एमाले उपमहासचिव गुरुङद्वारा लमजुङ प्रतिनिधिसभाका लागि मनोनयन दर्ता

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज ४ः१५ बजे बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एक मात्र प्रतिनिधिसभा रहेको लमजुङबाट उनले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
उपमहासचिव गुरुङ यसअघि प्रदेशसभाका लागि सिफारिस भए पनि एमालेले उनलाई केन्द्रमै उठाएपछि उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका थिए । उनले सङ्घीयता बचाउने र देश र जनताको विकासका लागि आफ्नो योगदानलाई निरन्तरता दिनका लागि उम्मेदवारी दिएको बताए ।
आफ्नो व्यक्तिगत इच्छा प्रदेशमै उठेर पुनः मुख्यमन्त्री हुँदै बाँकी रहेका विकासका काम पूरा गर्ने चाहना भए पनि पार्टीले केन्द्रमा उठाएपछि प्रतिनिधिसभाको उम्मेदवार भएको र केन्द्रबाट नै विकास गर्ने उनले बताए ।

प्रतिक्रिया