पहिराेले पाल्पाका २२ घर जोखिममा

पाल्पा । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो । पहिराका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ ।
पहिरापीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताए । उनका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल वितरण गरिएको छ । बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्छन् ।
उनी भन्छन्, ‘तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिराले लैजान्छ भन्ने निश्चित छैन, गाउँ नै पूरै जोखिममा छ, यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ ।’ यहाँ रहेको लक्ष्मी माविमा पनि जोखिम पु¥याएको प्रधानाध्यापक पदमबहादुर थापाले बताए ।
निस्दी–४ मित्यालको एक विद्यालय र दुई घरमा पनि ठूलो क्षति पुगेको छ । वर्षाले खोपलाकका दुई घर भत्केको छ । माथिबाट खसेको पहिराेले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताए ।

प्रतिक्रिया