शुक्रबार, वैशाख २६, २०८२

यू-१७ महिला विश्वकप फुटबल आजदेखि

नेपालखोज २०७९ असोज २५ गते ६:४२

फिफा यू–१७ महिला फुटबल विश्वकप आज बाट भारतमा सुरु हुँदैछ । प्रतियोगितामा आयोजक राष्ट्रसहित कुल १६ टोलीको सहभागिता रहनेछ । हरेक दुई वर्षमा हुने प्रतियोगिताको यो सातौं संस्करण हो । प्रतियोगिता यसअघि सन् २०२० मा हुने भनिएपनि कोभिड–१९ को संक्रमणका कारण स्थगित गरिएको थियो ।

खेल भुवनेश्वर (ओडिशा) को कलिंगा स्टेडियम, मार्गोवा (गोवा) को पण्डित जवाहरलाल नेहरू स्टेडियम र नवी मुम्बई (महाराष्ट्र) को डीवाई पाटिल स्टेडियममा हुनेछ । मोरक्कोले आज समूह ए मा ब्राजिलको सामना गर्नेछ, जबकि पहिलो पटक यस प्रतियोगितामा भाग लिइरहेकाे भारतले अमेरिकाको सामना गर्नेछ ।

समूह बी मा जर्मनीले नाइजेरिया र चिलीले न्युजिल्यान्डसँग खेल्नेछ । प्रत्येक समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। अक्टोबर २१ र अक्टोबर २२ मा गोवा र मुम्बईमा खेल हुनेछन् । दुवै सेमिफाइनल गोवामा २६ अक्टोबरमा हुनेछ भने फाइनल र तेस्रो स्थानका खेल ३० अक्टोबरमा हुनेछन् ।

भारतले यति ठूलो परिमाणको फिफा प्रतियोगिता आयोजना गर्ने अवसर पाएको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा भारतले यू–१७ पुरुष विश्वकप आयोजना गरेको थियो। उक्त प्रतियोगिताको सफल आयोजनाका कारण भारतले यु–१७ महिला विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो ।

सन् २००८ मा सुरु भएको यो विश्वकप पहिलो पटक उत्तर कोरियाले जितेको थियो । यसपछि दक्षिण कोरिया (२०१०), फ्रान्स (२०१२), जापान (२०१४), उत्तर कोरियाले (२०१६) उपाधि जितेको छ भने पछिल्लो पटक सन् २०१८ मा स्पेनले उपाधि जितेको थियो।

प्रतिक्रिया