गोदावरी नगरपालिकामा १३२ जनामा डेंगु

काठमाडौं । गोदावरी नगरपालिकाका ज्वरो आएका ४५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा १३२ जनालाई डेंगु देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको वडा नं ३, ११, १२, र १४मा डेंगुको संक्रमण बढी देखिएकाले नियन्त्रणका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ ।
रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी कार्यक्रमहरु गरिराखेको उनको भनाइ थियो ।
अहिले नगरपालिकामा डेंगुको संक्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७५मा डेंगु संक्रमण भएकामा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ । -रासस

प्रतिक्रिया