‘सहजरुपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीले सहज रुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसको अवसरमा संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराएका हुन् ।
विश्वभर छरिएर रहेका नेपालीको हक, हित र अधिकारको संरक्षण र सम्बर्द्धनका लागि स्थापित संघ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । संघले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेसा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीको पूँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रधानमन्त्री देउवाले भने, ‘नेपालको विकास र समृद्धिको अभियानमा एनआरएनएको सहयोग र सद्भाव निरन्तर जारी रहने कुरामा विश्वास व्यक्त गर्दछु । गैर आवासीय नेपाली संघले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गरी नेपालको मौलिक संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन सहयोगात्मक भूमिका निभाउँदै आएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्न सङ्घले आफ्ना क्रियाकलापलाई सशक्त रुपमा अघि बढाउनेछ भन्ने विश्वास लिएको छु ।’
विश्वभर छरिएर रहेका नेपालीहरूले विदेशमा नेपालको पहिचान र गरिमा बढाउनुका साथै विभिन्न पेसा, व्यवसायमा संलग्नरही सम्बन्धित देशको विकास निर्माणमासमेत योगदान पुर्याएका छन् । उनले विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई मुलुकको समृद्धिमा सहभागी हुन संस्थामा आवद्ध सबै गैर आवासीय नेपालीलाई अपिल गरे ।
संघले २०७२ सालको भूकम्पको बेलामा भूकम्प प्रभावितलाई उद्धार गरी राहत प्रदान गर्नेदेखि भूकम्पबाट घरबास गुमाएकाका लागि आवास गृह निर्माण गर्न समेत योगदान पुर्याएको छ । साथै, संघले कोभिड-१९ को महामारीको बेला गरेको मानवीय सहयोग प्रसंशनीय छ ।
प्रधानमन्त्री देउवाले संसारभरि छरिएर रहनुभएका हरेक नेपालीहरू नेपालका गैरआवासीय दूतहरु भएको बताउँदै विदेशमा नेपालको पहिचान दिलाउन र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

प्रतिक्रिया