शुक्रबार, वैशाख २६, २०८२

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीका सबै जिल्लामा तयारी पूरा

नेपालखोज २०७९ असोज २५ गते १८:००

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् ।

खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ ।

प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ । कूल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल समेत हुने जनाइएको छ । प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा हुनेछन् ।

विसं २०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकद सम्पन्न गरेको पोखराले चार दशक पछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो ।

आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगिता आगामी असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए ।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधार लगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक कुनैपनि प्रतियोगिता हुनेछैनन् ।

सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली संघ(एनआरएन) गरी कुल ११ टिमबीच प्रतिष्पर्धा हुनेछ । स्वर्ण ३९३, रजतः ३९३ र कास्य ६०० पदकाका लागि प्रतिष्पर्धा हुनेछ ।

खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिमन्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ ।

यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।

आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । पोखरा र बाहिरका खेलमैदान राष्ट्रिय खेलकुदका लागि तयारी अवस्थामा रहेको संयोजक गुरुङले जानकारी दिए ।

बाग्लुङमा आइटिएफ तेक्वान्दोे प्रतियोगिता हुनेछ । सदरमुकामस्थित रामरेखा कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि खेलस्थल सुधार, साजसज्जादेखि खेलाडीका लागि होटल व्यवस्थापनसम्मको काम भइरहेको छ ।

शनिबार विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिने आइटिएफका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

‘प्रतियोगिता कात्तिक २ गतेसम्म चल्छ, मौसमले साथ दियो भने कभर्डहल बाहिर पनि खेल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ’, उनले भने, ‘सात प्रदेश र तीन विभागीय टिमका गरी झण्डै तीन सय खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् ।’ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय प्रतियोगिता व्यवस्थापन समितिले व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको हो ।

गण्डकी प्रदेशका आइटिएफ प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताए । विभिन्न उमेर र तौल समूहका खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।

‘गण्डकी प्रदेशबाट १४ पुरुष र ११ महिला खेलाडी भाग लिँदैछन्, खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्’, प्रशिक्षक घर्तीले भने, ‘आठौँ राष्ट्रिय खेलकुदमा भन्दा यसपालि गण्डकीले नतिजा सुधार्ने अपेक्षा छ ।’

नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा गण्डकीले एक स्वर्ण र सात रजत पदक हात पारेको थियो । नवौँमा आइटिएफ तेक्वान्दोतर्फ २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भएपनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए । खेलाडीलाई नजिकका पर्यटकीय गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उनको भनाइ छ ।

‘राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ’, उपाध्यक्ष केसीले भने, ‘देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।’

प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राष्ट्रिय खलेकुद परिषद्ले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो ।

प्रतिक्रिया