समाज एकीककरणमा सबैजातको महत्त्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव

मोरङ । पूर्वराष्ट्रपति डा. रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ आयोजित सामाजिक अभियन्ता एवं उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवं मारवाडी समुदायको महत्वपूर्ण योगदानको रहेको विचार व्यक्त गरे ।
पूर्वराष्ट्रपति डा. यादवले भने, ‘अभियन्ता गोयल एवं उनको परिवारले यस क्षेत्रमा सामाजिक, संस्कृति, शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु ।’ उनले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु¥याउने धारणा राखे ।
अभिनन्दित व्यक्ति गोयलले गरीब विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुशी र शान्ति महशुस हुने गरेको अनुभव सुनाए । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीरप्रसाद गोयललगायतले गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताए । झापाको भद्रपुरमा विसं २००५ मा जन्मनु भएका र हाल विराटनगरलाई कर्मथलो बनाइ बस्नुभएका गोयललाई स्वदेश र विदेशका गरी २६८ सङ्घसंस्थाले अभिनन्दन गरेका छन् ।
अभियन्ता गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दाबढी असाहय एवं जेहन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर, अनाथ आश्रमलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेका छन् ।
अभियन्ता गोयलले मुलुकका विभिन्न शैक्षिक संस्था, धार्मिक, सामाजिक सङ्घसंस्थालाई निरन्तररुपमा आर्थिक सहयोग पु¥याउँदै आएको र यो सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । सामाजिक अभियन्ता गोयलले भद्रपुरको गौशाला, गणेश मन्दिर, रङ्गेलीको गौशाला, श्रीकृष्ण गौ सेवा सदन विराटनगर, अनाथआश्रम इटहरी, विराटेश्वर वुद्धाश्रम विराटनगर, विश्रान्ति मन्दिर मूलघाट धनकुटा, अनाथ आश्रम काठमाडौँमा आर्थिक सहयोग गर्दै आएका छन् ।
त्यस्तै विराटनगरको अष्ट चिरञ्जीवी मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, झापाको कन्काई धारको लक्ष्मी नारायण मन्दिर, उर्लाबारीको हनुमान ट्रष्ट, झापाको मारवाडी समाज, नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुरलगायत करीव ३०० सङ्घ संस्थालाई सहयोग उपलब्ध गराए ।

प्रतिक्रिया