अरिंगालले चिलेर एक युवाको मृत्यु

नेपालखोज २०७९ असोज ३० गते १३:१७

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जंगलको रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालको चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिङ्गालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए ।

बिहीबार गाउँ नजिकैको जंगलमा कालो अरिंगालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिंगालको टिप्ने प्रयास गर्दा दर्जनौँ अरिङ्गालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।

अरिङ्गालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए ।

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जंगलमा स्थानीयवासीले अरिङ्गालको सिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिंगालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिंगालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिंगालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो । -रासस

प्रतिक्रिया