प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज १०३ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत जोशीको निधनको खबरले दुःखित र स्तब्ध बनाएको बताएका हुन् । उनले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।
भाषा, साहित्य र संस्कृतिको क्षेत्रम उनले पुर्याएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले उनको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको बताएका छन् ।
स्व जोशी संस्कृतिविद्, लेखक र कुशल अनुसन्धानकर्ता थिए । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा उनले महत्वपूर्ण योगदान पुर्याएका थिए । साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत तीन पटकसम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील थिए ।

प्रतिक्रिया