शुक्रबार, जेठ ४, २०८१

विभेदको गहिरिँदो संस्कृति

घिमिरे युवराज २०७९ कार्तिक ३ गते ७:३८

फिटिक्कै निद्रा परेको छैन । एक किसिमको डर र चिन्ता जस्तो छ मनमा । बाहिर देख्दा शान्त छ समाज । तर भित्र ? यत्रो विभेद, हिंसा छ गहिरो । धार्मीक र जातीय अन्धविश्वास छ । के यसैलाई भन्छन् मूर्दा शान्ति ? मूर्दा शान्तिले पनि यो त्रासदपूर्ण समयको ठ्याक्कै चित्रण गर्दैन । अर्कै बलियो शब्द चाहिन्छ । एउटा कमेडियनले गरेको कमेडीको विषयका आधारमा ऊ थुनामा जानुपर्ने ? कलाको स्तर र चेतनाको बारेमा आलोचना गर्ने धेरै तरिका र उपाय छन् । अपूर्वले गरेको ‘उक्त’ स्ट्याण्डप कमेडी मेरो लागि पनि झुर नै छ ।

नेपाली कलाकारहरूले हामी बाँचिरहेको समयको सामाजिक र राजनीतिक स्थिति बुझ्न वा समृद्ध सांस्कृतिक चेतना बनाउन सक्ने स्थिति छैन । त्यस किसिमको पढाई र सिकाई गर्ने अभ्यास नै भएन । अधिकांश हाम्रा सिर्जनामा यस्ता समस्या छन् । एउटा मुद्दामा प्रगतशील भनिएका अभिब्यक्ति/सिर्जनाले अरू ५ वटा मुद्दा/विषयलाई अपमान गरिरहेको हुन्छ । तर, कलाको स्तर र कलाकारको चेतना अदालत र पुलिसले हेर्न थाल्यो भने यहाँ हरेक दिन दर्जनौँ लेखक, कलाकार, पत्रकार जेल जान्थे होला । फेरि त्यसको डरले कसैले चुनौती मोलेर फरक मत वा विषय उठान गर्ने छैन ।

यसैको आडमा परिवर्तनको कुरा गर्नेहरू पनि फस्छन् । परिवर्तनको कुरा त धेरैलाई मन पर्दैन । मन नपर्नेले जुनै विषय र अवस्थामा पनि जेल हाल्न पाउने भो । कला साहित्यभित्र विभेद र हिंसाको प्रस्रयको कुरा छन् भने त्यस बारे बहस छलफल र विरोध हुनुपर्छ । भएको पनि छ । कमेडियन अपुर्वमाथि मुद्दा पर्नुअघि नै सोसल मिडियामा सार्वजनिक उनको ‘स्ट्याण्डप कमेडी’ भिडियो माथि प्रसस्त आलोचना आइसकेको छ ।

कडा/कडा आलोचना । जुन समुदायलाई ब्यङ्ग्य गरेको हो त्यस समुदायका मानिस बाहेकका समुदायका मानिसहरूबाट झन् धेरै आलोचना भएको छ त्यस भिडियोको । तर निश्चित समूहको दबाबमा जब अपूर्वलाई थुनियो, यसले असहिष्णु र निरंकुस समाजमा हामी छौँ भन्ने देखायो । राणाकाल र पश्चायत छिचोलेर हामी यहाँसम्म आएको भनेको त हैन रहेछ ? हामी त नाम मात्र बदलिएको उही पुरानै ब्यवस्थामा रहेछौँ ? नत्र अपुर्व जस्ता कलाकारलाई जेल हाल्ने देश लोकतान्त्रिक हुन्छ ? राज्यले आफू अलोकतान्त्रिक छु है भनेर देखाई रहने स्वभाव छ यहाँ ।

काठमाडौंका रैथाने वा नेवार समुदायले वर्षौँदेखि भोगेको दमन हेरौँ । खोकना समस्या, सडक विस्तारको मारमा परेका रैथाने, गुठी संस्कृति माथिको प्रहार विरूद्धमा त हामी पनि बोलिरहेका छौँ । यही समुदायका बीचमा एउटा कलाकार जेल पठाइनु भएन । भन्ने मलाई लाग्छ । एउटा कलाकारको प्रस्तुतिले कुनै समुदायलाई अपमान गर्यो भनेर उसलाई पुलिस भ्यानमा हाली रहँदा त्यस कलाकारलाई पनि जातीय, रंग, संस्कृति वा शक्तिका कारणले हिंसामा पार्नु भएन । अपुर्वलाई थुनाउने भीडबाट आएका शब्दहरू अपुर्वको प्रस्तुतिभन्दा धेरै गुणा आपत्ति जनक छन् । सयौँ नागरिकहरू सहिद भएर, हजारौँ, लाखौँ नागरिकहरू क्रान्तिमा ह‍ोमि्मएर आएको यो समय ।

पचासौँ वर्षको संघर्षपछिको यो ‘लोकतान्रिक गणतन्त्र’ भनिएको ब्यवस्थाको ठूलो उपहास हो ‘अपुर्व गिरफ्तारी’ घटना । के अब कला र साहित्यलाई राणा र पश्चायत शासनमा झैँ सेन्सरको चंगुलमा हाल्ने ? हामी कस्तो समाज बनाउन खोज्दैछौँ खासमा ? कथित उच्च जातकी केटीसँग प्रेम गरेको नाममा कथित तल्लो जातको केटामाथि शक्ति दुरूपयोग गरेर जेल कोचिन्छ । जेलभित्रै पुलिसले कुटेर उसको हत्या गर्छन् । यता समुदाय र शक्तिको दबावमा एउटा कलाकार जेल जान्छ ! अनाहकमा एउटा जीवन ध्वस्त हुन्छ । समाज एकदमै पश्चगामी देख्छु म ।

तर बुझेका भनाउँदाहरू, यस विभेदपूर्ण र मश्चगामी समाज बदल्नु पर्छ भनेर हिँडेकाहरू पनि मौन छन् । किन ? उनीहरूको बोल्ति बन्द हुनुको पछाडि ठूलो डर लुकेको छ । किनभने साँच्चै हाम्रो समाजमा फरक मत, विरोध वा खबरदारीका निम्ति रत्तिभर पनि ‘स्पेस’ छैन । यहाँ बहस र छलफल गर्ने ठाउँ कम छ । ४ जनाले भनेको भन्दा फरक मत भएको १ जना बोल्न डराउँछ । किनभने ४ जनाबाट त्यो एक जनालाई डरैडर छ । फिजिकल डर कम होला । तर बहिस्करण, निरूत्साहन, अपमान, मानसिक तनाबको डरैडर छ । त्यही भएर पनि यो घटनासँग असन्तुष्ट मानिसहरू पनि बोलिरहेका छैनन् ।

तर के हामीले बाँच्न चाहेको समाज यस्तै हो त ? सामान्य अभिब्यक्ति स्वतन्त्रता पनि नभएको समाज ? समाजमा दैनिक रूपमा भैरहेको हिंसा र विभेद पीडितले न्याय पाउने स्थिति बनेको छैन । अपराधीहरू खुलेआम छन् । कलाकारहरू भने जेल जाने ? बोलौँ न हामीले चाहेकोसमाज कस्तो हो ? के रूपा सुनार मुद्दामा तत्कालिन मन्त्र गो. कृ.स्रे.ले सरस्वती प्रधानलाई आफ्नो झण्डावाला गाडीमा राखेर पुलिसबाट घर फिर्ता ल्याए झैँ अपुर्वलाई कसैले फिर्ता ल्याउने कल्पनासम्म पनि गर्न सकिन्छ ? निद्रा अझै परेको छैन । ( घिमिरे रंगकर्मी हुन् । )

प्रतिक्रिया