इच्छाकामना मन्दिर पुनः निर्माणको अन्तिम चरणमा

नेपालखोज २०७९ कार्तिक ३ गते १०:१९

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो ।

विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको छाना छाउन बाँकी रहेको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । तामाको छाना बनाउनका लागि भक्तपुरमा रहेका कालीगडलाई जिम्मा दिइएको छ ।

यसबाहेक मन्दिरमा रङरोगन, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने काम बाँकी छ । बजेट अभावका कारण बाँकी काम निर्माण सम्पन्न गर्न नसकिएको उनले बताए । ‘गाँउपालिका र प्रदेश सरकारको झण्डै दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ, उनले भने । ‘चार/पाँच लाख चन्दादाताबाट पनि सङ्कलन गरिएको छ ।’ मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ थियो । यस वर्ष प्रदेश सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको छ भने गाँउपालिकाले पनि बजेट विनियोजनको आश्वासन दिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो पर्ने गरेको बताए । उनले बजेटको सुनिश्चितता भए यस वर्ष मन्दिर निर्माण सम्पन्न हुने जानकारी दिए । कोरोना र आर्थिक समस्याका कारण मन्दिर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताए । उनले मन्दिर नजिकै पाउना घरसमेत निर्माण भइरहेको जानकारी दिए । ‘मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको छ । जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाँउपालिकाले प्राथमिकतामा राखेको छ’, उनले भने । इच्छाकामना गाँउपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले यस वर्षदेखि प्रचारप्रसारलाई बढाइने बताए । शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरुपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामनामा मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे मनले इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । उनका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उनका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न सुरु गरेका थिए ।

प्रतिक्रिया