‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’ : प्रमुख थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमनागरिक एवं मतदातासमक्ष निर्वाचनको गतिविधि पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समितिको सहकार्यमा आयोगद्वारा आज आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सन्दर्भमा ‘प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
निर्वाचनमा अनावश्यक खर्च कटौती गर्न व्यावहारिक हिसाबले बनाएको निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा टुलुटुलु नहेर्ने भन्दै प्रमुख आयुक्त थपलियाले भने, ‘आचारसंहिता उल्लङ्घनको विषयमा स्पष्टीकरण सोध्नु कारबाही होइन ‘ समयमै निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई कारबाही गरेको उल्लेख गर्दै उनले निर्वाचनमा उम्मेदवारले मतदातालाई लोभ, लालच एवं प्रलोभन देखाउन नहुने कुरामा जोड दिए ।
उनले मतलाई बदर हुन नदिन मतदाता शिक्षा सामाजिक सञ्जालबाट पनि सुरु गरेको बताउँदै असल जनप्रतिनिधि छान्न पद, पैसा, पहुँच र प्रलोभनमा पर्नु नहुने बताए । राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न निर्वाचन महत्वपूर्ण छ भन्दै प्रमुख आयुक्त थपलियाले स्वतन्त्र अभिव्यक्ति र निर्वाचन स्वच्छता लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे ।
सिद्धान्त, निष्ठा र विचारले निर्वाचन स्वच्छ एवं पारदर्शी हुने भन्दै प्रमुख आयुक्तले सञ्चारमाध्यमले निर्वाचनको गरिमा बढाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई स्वच्छ, भयरहित, पारदर्शी एवं स्वतन्त्र बनाउन सुरक्षाका सबै एकाइ परिचालन हुने जानकारी दिए ।

प्रतिक्रिया