शुक्रबार, वैशाख २६, २०८२

गृहमन्त्री खाणले भने- खेलाडी राष्ट्रका गहना हुन

नेपालखोज २०७९ कार्तिक ४ गते १७:००

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताएका हुन् । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम गरेको गृहमन्त्री खाणले बताए । ‘खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ,’ मन्त्री खाणले युवा संघ नेपाल सिद्धार्थनगरले भैरहवामा आज आयोजना गरेको कार्यक्रममा भने, ‘पाँच दलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।’

निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने उनको दाबी थियो । ‘पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ,’ उनले भने, ‘निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुझेका व्यक्तिसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँछौँ ।’

राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उनहरुको सम्मान गर्नुपर्नेमा उनले जोड दिए । उनले खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत बताए । ‘हामीले राम्रा अन्तर्राष्ट्रिय रङ्गशाला बनायौँ र यहाँ ठूला खेल आयोजना गयौँ भने विदेशी खेलाडी यहाँ खेल्न आउनु हुन्छ,’ उनले भने, ‘खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।’

उनले नेपाली खेलाडीले विभिन्न अभावका बाबजुद राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुसी र गौरवको विषय भएको बताए । ‘अहिले खेलिरहनुभएका खेलाडी मात्रै होइन, पूर्वखेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रसँग सम्बन्धित सबैले केही न केही अभावको सामना गर्नुपरेको छ, अभावबाट मुक्त गर्न हामी लागि पर्नेछौँ, गठबन्धनले यसतर्फ ध्यान दिनेछ’, उनले भने, ‘सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गर्दै सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउने छ ।’

कार्यक्रममा गृहमन्त्री खाणले खेल क्षेत्रलाई माथि उकास्न गठबन्धनको जित जरुरी रहेको दोहो¥याए । कयौँ विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा रुपन्देहीले उल्लेखनीय टेवा पु¥याएको स्मरण गर्दै गृहमन्त्री खाणले जिल्लाका सबै खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने बताए।

प्रतिक्रिया