आज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरी मनाइदैँ

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहि आएको छ ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
प्रतिक्रिया