शिक्षामन्त्री पौडेलले भने- एमाले लोकतन्त्र विरोधी पार्टी हो

नेपालखोज २०७९ कार्तिक ८ गते १०:१५

बागलुङ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमबार चुनावी सभा निसीखोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन । ‘हामीले लडेर ल्याएको व्यवस्थाविरुद्धमा नेकपा एमाले छ,’ उनले भने, ‘७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्काउन एमाले उद्दत छ ।’

उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताएका छन् । ‘यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो,’ उनले भने, ‘यो प्रणालीमा भएका कमि कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।’

सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क हुने आश्वासन दिए । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उल्लेख गरे । बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे ।

‘म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,’ उनले भने, ‘जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नुछैन जनताकै पक्षमा काम गर्छू ।’ बागलुङ क्षेत्र नम्बर दुईमा पाँच दलीय गठबन्धनका उम्मेदवारले जीत हासिल गरेको बताउँदै औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताए । राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले केपी ओलीसहितको सहभागीतामा बनाएको संविधान उनले च्यात्ने काम गरेको बताउँदै संविधानको रक्षाका निम्ती गठबन्धन भएको बताउ ।

उनले चुनाव चिन्ह ठूलो कुरा भएको बताउँदै देश बनाउनका लागि गठबन्धनमा सामेल भएका पार्टीहरुको चुनाव चिन्हमा मतदान गर्न कार्यकर्तालाई आग्रह गरे । गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार द्रोर्णकुमार कुँवरले जनताका मुद्धाहरु आफूहरु लिएर आएको भन्दै संविधान च्यात्नेका विरुद्ध एकजुट हुन गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरे । जनताको माझमा सिक्न आएको भन्दै जनताकै सामू रहेर विकाश र समृद्धिका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

अल्पत्र परेका विकाशका कामलाई सम्पन्न गराउन आफूहरुको उम्मेदवारी भएको बताउँदै ढोरपाटन साल्झण्डी सडक, उत्तरगंगा जलाशययुक्त परियोजना, मध्यपहाडी लोकमार्गलगायतका काममा चुनावपछि हुने आश्वासन दिए ।

प्रतिक्रिया