शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर । भरतपुर महानगरपालिका २६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।
गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपेका छन् । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’
कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उनले बताए । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन् ।
चितवनमा यो पेसा गरेका पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क ४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए । यसका लागि उनले शिक्षण पेसासमेत छोडे । बीस वर्ष अगाडि उनले काठमाडौंको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउथे । मानविकी सङ्कायमा स्नातक गर्नुभएका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउनुहुन्थ्यो तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन ।
उनी भन्छन्, ‘फूलसँग रमाउने मेरो रुची हो । सानैदेखि फूल प्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ ।’
यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिए । उनले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौंमा फोटो सम्बन्धि पढे । यसले पनि उनको तिर्खा मेट्न सकेन । अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याए । पुष्प किसान बन्ने निधो गर्नुभयो । त्यसयता उनी फूलसँग नाता गासेर रमाउँदै छन् । यो व्यवसाय गर्नका लागि उनीलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् ।
फूलको माग पुर्याउन धौधौ
पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । १० हजार माला मात्र बेचे मुनाफा दुई लाख रुपैयाँ हुन्छ । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन,’ उनले भने ।
बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ । -रासस

प्रतिक्रिया