शुक्रबार, जेठ ४, २०८१

दलहरुले दललाई नै अघोषितरुपमा प्रतिबन्ध गरेका हुन् त ?

ओम आचार्य २०७९ कार्तिक १३ गते १५:०५

एकिकृत समाजवादी, माओवादी र नेपाली कांग्रेस यी तीनै राजनीतिक दल पार्टीगत चुनावमा सहभागी देखिएका छैनन्। यिनीहरु आफ्ना वालमा आफ्नो चुनाव चिन्ह मात्रै प्रयोग गरी निर्वाचनमा सहभागी भएका छन् । एकिकृत समाजवादी पार्टी निर्माण भएपछि सोही दलका कार्यकर्ताले मात्र पार्टीलाई जान्दछन् र चुनाव चिह्न चिनेका छन् । आम जनसमुदायमा सो पार्टीको बारेमा जानकारी छैन र धेरैले पार्टी चिन्दैनन् । यस पार्टीको चुनाव चिह्नबारे पनि जानकार छैनन् । त्यस्तै माओवादी पनि शान्ती सम्झौतापछि निर्वाचनमा क्रमश ओरालो छ । अहिले त झन कमजोर अवस्थामा छ । आम जन समुदायमा सो पार्टी प्रति सकरात्मक सोच नभएका कारण माओवादी नाम परिवर्तन गर्न छलफलमा आएको देखिन्छ ।

त्यही भएर एकिकृत समाजवादी र माओवादी आफ्नो राजनीतिक दलको नामबाट निर्वाचनमा सहभागी हुँदा सन्तोषजनक परिणाम हात नलाग्ने स्थिती देखेपछि पाँचदलिय गठबन्धको नाममा निर्वाचनमा सहभागी भएका हुन् सक्छन् । त्यही मान्यतामा नेपाली कांग्रेस पनि चुनाब चिह्न मात्र प्रयोग गरेर निर्वाचनमा सहभागी भएको छ ।

स्वतन्त्र उम्मेदवार अहिले जसरी आफ्नो चुनाव चिह्नमा निर्वाचनमा सहभागी भएका छन् त्यस्तै यी राजनीतिक दल पनि अहिले निर्वाचनमा चुनाव चिह्नमा मात्रै सहभागी भइरहँदा निर्दलिय चुनाव हो जस्तो लाग्न थालेको छ ।

धरान र काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि जनमानसमा राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारमा आकर्षण छ । सोही कारणबाट अहिले प्रदेश र प्रतिनिधि सभामा पनि स्वतन्त्र उम्मेदवारकाे संख्या वृद्धि भएको छ । अहिले जनभावना र जनममत अध्ययन गर्दा विगत २०, २५ वर्षदेखि निरन्तर दोहोरिएर उम्मेदवार भएका अशक्त वृद्ध उम्मेदवार कै कारण राजनीतिक दल प्रति मात्र नभएर उम्मेदवार प्रति जनताको आकर्षण देखिएको छैन । जनताको आक्रोश पार्टी प्रतिको हैन निरन्तर रुपमा दोहोराएर टिकट दिएर निर्वाचनमा सहभागी गराएकोमा छ । यहीकारणबाट पनि राजनीतिक पार्टीहरूमा प्रश्न उठ्न थालेको छ । राजनीतिक दलहरूले आफ्नी श्रीमती, भाइ, भतिजा, परिवारका सदस्य, उद्योगी, व्यापारी, कानुनले दण्डित गरेका अपराधिक मनोवृती भएकलाई पार्टीको प्रतिनिधिको रुपमा राख्नु वा उम्मेदवार बनाएकै कारण जनता स्वतन्त्र उम्मेदवार प्रति आकर्षित भएका हुन् ।

केपी ओली प्रधानमन्त्री रहँदा दुई पटक संसद विघटन गर्दा प्रतिगमन भयो, गणतन्त्र सकिने भयो, संविधानको मानमर्दन भयो, संसद नै लोकतन्त्रको सर्वोच्च स्थान हो, लोकतन्त्रको संरक्षण र संवर्द्धन नै संसदबाट हुन्छ भन्दै यिनै गठबन्धनका दलहरूले आवज उठाए । बहुदल र गणतन्त्र लागी संघर्ष गरेका बहुदलका सहयात्री दलहरुनै निर्वाचनमा आफ्नो दलको नाम नलिएर स्वतन्त्र उम्मेदवारको जस्तो हैसियतमा सहभागी हुनु के अहिले राजनीतिक दलहरूले राजनीतिकदलहरूलाई नै अघोषितरुपमा प्रतिबन्धित गरेका हुन त ?

गिरिजा प्रसाद कोइरालाले माले, मसाले, मण्डले एकै हुन् भनेका थिए । अहिले गठबन्धका एक समूहको नेतृत्व गरेका प्रचण्ड भने ‘१२ बुँदे शान्ती सम्झौता गर्दै गर्दा गिरिजा बावुले हसिया हतौडामा भोट हालिसक्नु भयो हामीले पनि रुखमा मत हाल्यौं ।’ यो कुरा प्रचण्ड र गिरिजा कोइरालालाई निकटबाट चिन्ने तथा कांग्रेस भित्रै अपाच्य भएको छ ।

अहिले कलम र हसिया हथौडा जिताउन नेपाली कांग्रेसले अभिभारा लिएको छ । सार्वजनिक सभा समारोहमा उक्त पार्टीको नाममा मत पनि माग्दै गर्दा उम्मेदवार र नेपाली कांग्रेस प्रति कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूमा निष्ठा र विश्वास बोकेका जनसमुदाय खिन्न र निराश छन् ।

प्रतिक्रिया