मेटमणि चौधरीले भने- एमालेलाई जनताले सबक सिकाउने छन्

नेपालखोज २०७९ कार्तिक १५ गते १६:२६

दाङ । नेकपा (एकीकृत समाजवादी)का पोलिट्व्यूरो सदस्य एवं दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई सबक सिकाउने बताएका छन् ।

पाँच दलीय गठबन्धनका कार्यकर्ता भेलालाई कालाकाँटेमा सम्बोधन गर्दै सहरी विकास मन्त्री समेत रहेका मन्त्री चौधरीले जनताले विकास र सम्बृद्धिको चाहनाका कारण तत्कालीन नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएको तर केपी ओलीले जनतामाथि कुठाराघात गरेको बताए ।

एक्काइसौं शताब्दीका जनतालाई झुक्याउन नसकिने बताउँदै मन्त्री चौधरीले भने, ‘केपी ओलीले सुखी नेपाली र समृद्ध नेपालको गीत गाएर जनता अल्मल्याउने काम गरे । शान्ति र संविधानमाथि पटक पटक तरवार प्रहार गरे । उनले सर्वाेच्च अदालतको फैसला समेतलाई लत्याउने चेष्टा गरे । त्यसकारण मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई सबक सिकाउने छन् ।’

संविधानको रक्षा, कानुनी राज्यको ग्यारेन्टी, विकास र संवृद्धिका लागि नै गठबन्धन बनेको बताउँदै मन्त्री चौधरीले भने, ‘यो गठबन्धन देशको विषम परिस्थितिका कारण बनेको हो । यो गठबन्धन मुलुक जोगाउँन बनेको हो । समावेशी संविधानको रक्षा गर्दै मुलुकलाई विकासको दिशातर्फ लैजान गठबन्धन बनेको हो । तसर्थ तपाईंहरु जनतालाई निर्धक्क यो कुरा बुझाउनुस् ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु, राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रश्मिराज नेपाली, नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, शुशिला चौधरी लगायतले गठबन्धनका पक्षमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया