अर्थमन्त्री शर्मा र नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच शिष्टाचार भेट

नेपालखोज २०७९ कार्तिक १५ गते १९:१२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ ।

भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए । ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’ उनले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए ।

युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे । त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्दै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि पारे । राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया