मुगु र हुल्लामा वैकल्पिक बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ । पहिरो क्षति पुर्याएका विद्युतगृहहरुरु पुननिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत उत्पादन गरी मुगु र हुल्लामा आपूर्ति गर्ने छ । यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लाहरुमा पुर्याइसकेको छ ।
गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्याएको छ ।नहरमा क्षति पुगी विद्युत उत्पादन बन्द भएपछि मुगु र हुल्ला जिल्ला विद्युतबिहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन । क्षति पुगेका विद्युतगृहरुका संरचनाको पुनर्निर्माण भइरहेको छ ।
प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालिकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ । हुल्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि १२५ र १०० केभिएका जेनेरेटरहरुको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुल्लामा दुई हजार तीन सय ग्राहकहरु छन् ।
जेनेरेटहरु कुलेखानी विद्युत गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएका हुन् । प्राधिकरणले ती जेनेरेटहरु सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्याइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवसम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको थियो ।
कार्यकारी निर्देशक घिसिङले साना विद्युतगृहको पुनर्निर्माण भइरहेको र यसका लागि अझै कम्तिमा एक महिना लाग्ने देखिएकोले यस अवधिमा त्यस क्षेत्रको विद्युतविहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको बताए ।
‘जेनेरेटरमार्फत विद्युत उत्पादन गर्दा लागत प्रति युनिट ८० रुपैयाँभन्दा बढी पर्छ, तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम ३० रुपैयाँ मात्र उठ्छ, यहाँ खपत हुने विद्युतको आम्दानीभन्दा लागत दोब्बरभन्दा महंगो छ, तर सबैको घरमा उज्यालो पुर्याउने राज्यको दायित्व भएकोले नाफा नोक्सान नहेरी विद्युतलाई आधारभूत आवश्यकताको वस्तुको रुपमा लिएर हेलिकोप्टरमार्फत सामान ढुवानी गरेरै भएपनि आपूर्तिको व्यवस्था गरेका छौं’, घिसिङले भने ।
‘क्षति पुगेका विद्युतगृहहरुको जतिसक्दो छिट्टो पुनर्निर्माण तथा मर्मत गर्ने छौं, तर त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन, तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेका छौं ।’

प्रतिक्रिया