काठमाडौं महानगरका मेयरलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ । आयोगले हाम्रो नेपाली पार्टीसँग संलग्नता रहेको वा नरहेको विषयमा जवाफ दिन भनेको छ।
आयोगले पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’
हाम्रो नेपाली पार्टीका उम्मेदवारले मेयर साहको समर्थन रहेको भन्दै प्रसार गरिरहेको आयोगले जनाएको छ । मेयर साहतको समर्थन रहेको भन्दै ‘जय लौरो’ फेसबुक पेजटबा समेत प्रचारप्रसार भइरहेको आयोगले उल्लेख गरेको छ ।
यससँगै आयोगले मेयर साहलाई चुनावी प्रचारका लागि आफ्नो नाम र तस्वीर प्रयोगका विषयमा सहमति भएको छ कि छैन भनेर पनि प्रश्न गरेको छ ।
आयोगले भनेको छ, ‘इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ/ छैन? हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्वीर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ/छैन ?’
मेयर साहलाई जवाफ दिन आयोगले दुई दिनको समय दिएको छ ।


प्रतिक्रिया