आइतबार, वैशाख २८, २०८२

आईसीसी टी-ट्वान्टी विश्वकप : घरेलु टोली अष्ट्रेलिया बाहिरियाे

नेपालखोज २०७९ कार्तिक १९ गते २१:०९

काठमाडाैं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटबाट घरेलु टोली अष्ट्रेलिया आउट भएको छ । सुपर १२ को समूह १ को अन्तिम खेलमा श्रीलंकाविरुद्ध इंग्ल्याण्डले ४ विकेटको जित निकालेपछि घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया सेमिफाइनलमा पुग्न असफल भएको हो ।

न्यूजिल्याण्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पहिला नै पुगेको थियो । दोस्रो स्थानका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचमा प्रतिस्पर्धा रहेको थियो ।

आजको खेलमा इंग्ल्याण्ड पराजित भएको भए मात्रै अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने समिकरण रहेको थियो । शीर्ष स्थानमा रहेको न्यूजिल्याण्डले ५ खेलबाट ७ अंक जोड्दा दोस्रो स्थानमा रहेको इंग्ल्याण्डको र तेस्रो स्थानको अष्ट्रेलियाको पनि समान ७ अंक नै रहेको छ ।

रनरेटका आधारमा अष्ट्रेलिया इंग्ल्याण्डसँग पछि पर्न पुग्यो । श्रीलंकाले दिएको १४२ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४१ रन बनायो ।

प्रतिक्रिया