जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ‘लिडर समिट’ सोमबार

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को आइतबारदेखि औपचारिक सुरुआत भएको छ । यही कात्तिक २० देखि भएको सम्मेललन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा भइरहेको छ ।
सम्मेलनको औपचारिक सुरुआत भए पनि मुख्य कार्यक्रम लिडर समिट सोमबार र मङ्गलबार हुनेछ । उक्त कार्यक्रममा विश्वका विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्ने छन् । सम्मेलनमा एक सय ९७ पक्ष राष्ट्रका करिब ३० हजार सरकारी अधिकारी, गैरसरकारी संस्था पदाधिकारी, अनुसन्धानकर्ता, वन वातावरण विषयका विज्ञ, नागरिक समाज र सञ्चारकर्मीलगायतको सहभागिता रहेको बताइएको छ ।
नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा सहभागिता जनाएको छ । मन्त्री रेग्मीसँगै सम्मेलनका औपचारिक र अनौपचारीक बैठक तथा साइडलाइन वार्ताहरुमा वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेल, सहसचिव र अन्य सरकारी प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।
यस सम्मेलनको विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्वाकाङ्क्षी परिणामहरू दिने लक्ष्य तथा उद्देश्य रहेको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासहरूलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य कोपको सचिवालयले जनाएको छ ।
सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम गर्ने मार्गमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्वाकाङ्क्षी लक्ष्यका कार्य योजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ ।
यसबाहेक कोप–२७ मा वित्तसम्बन्धी सबै एजेन्डा अगाडि बढाई जलवायु वित्तका विषयमा महत्वपूर्ण प्रगति गर्ने, सन्तुलित रूपमा ठोस नतिजाहरू प्राप्त गर्न वार्तामा सम्झौतालाई सुधार र सहजीकरण गर्नु, हानिनोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानि तथा नोक्सानी सुविधा सम्मेलनका ‘एजेन्डा’ रहेको छ ।

प्रतिक्रिया