‘आचारसंहिताले निर्वाचनको विश्वशनीयता कायम गर्छ’

चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताएका छन् । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरुको उपस्थितिमा बनाइएको आचारसंहिता भएकाले साना र ठूला दल भन्ने कुरा नहुने बताए ।
आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । उनले भने, ‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताए ।
आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरु पनि चनाखो हुनु पर्ने उनले बताए । आचारसंहिता स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि बनाइएको बताउँदै उनले यसले निर्वाचनको विश्वशनीयता कायम गर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले आचारसंहिता नैतिक कानुनीबन्धन भएकाले सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने बताए । उनले आँफैले बनाएको नियमको आँफैले उल्घन गर्नु भनेको दण्डनिय भएको बताउदै निर्वाचनमा हुने अपराध, दुव्र्यवहार, गलत अभ्यास, डर धाक, धम्की प्रलोभन जस्ता कार्य रोक्न सहयोग पुग्ने बताए । निर्वाचन आचारसंहिताका प्रमुख बिषयहरु र सरोकारवालाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सचिब ज्ञवालीले आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने काम सबै पक्षबाट हुन जरुरी रहेको बताए ।
निर्वाचनको मिति घोषणा हुनुअघि ठेक्का सम्झौता भएर सुरु भएका विकास निर्माणका काममा भने आचारसंहिता लागू नहुने उनले जानकारी दिए । कार्यक्रममा संघ र प्रदेशसभा सदस्यको निर्वाचनमा खर्च र प्रचारप्रसार विषयमा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन आयोगकी उपसचिव लक्ष्मी शर्माले आयोगले निर्धारण गरेको खर्च भन्दा बढी रकम खर्च गर्न नपाईने बताए ।
आयोगले २५ लाख रुपैयाँ देखि ३३ लाखसम्म भौगोलिक अवस्था अनुसार खर्चको निर्धारण गरेको उनले जानकारी दिए । कार्यक्रममा चितवनमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जिल्लामा आचारसंहिता कार्यान्वयनका सवालमा उठेका प्रश्नको जवाफ दिएको थियो ।

प्रतिक्रिया