कस्ता छन् विश्वकप फुटबल २०२२ का सहभागी देश ?

काठमाडौं । विश्व फुटबलको महामेला फिफा विश्वकप २०२२ को सुरु हुन अब दुई साताभन्दा पनि कम समय बाँकी छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप काउन्टडाउन उत्कर्षमा छ । नेपालमा महानिर्वाचन -२०७९ हुने दिन नै अर्थात मङ्सिर ४ गते आइतबार ( नोभेम्बर २० ) मा कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिता अघि युरोपका क्लब लिग खेलहरु स्थगित भैसकेका हुनेछन् ।
डिसेम्बर १८ मा फुटबलको महामेला विश्वकप सम्पन्न भएको एक सातापछि मात्र ती लिग पुनः चालु हुनेछन् । सन् १९३० मा उरुग्वेबाट प्रारम्भ भएको विश्वकप फुटबलको यो २२औं संस्करण हो । पहिलो पटक एसियामा पर्ने मध्यपूर्वी क्षेत्रमा हुन लागेको विश्वकपको प्रत्यक्ष प्रशारण यसपालि नेपाली लगायत सबैजसो एसियालिहरुका लागि सहज हुनेछ । विश्वकप फुटबलको इतिहास झण्डै एक शताब्दी पुग्न लाग्दा एसिया महादेशमा भर्खर दोस्रो पटक विश्वकप आयोजना हुन लागेको छ ।
त्यसमा पनि मध्यपूर्वी एसियामा पहिलो पटक विश्वकप आयोजना हुँदैछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपमा पनि डेब्यू गर्दैछ । सन् २०१० मा फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको घोषणा गरेको थियो । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा भ्रष्टचार भएको आरोप समेत लागेको थियो ।
यस्तै कतारमा विश्वकपका लागि स्टेडियम निर्माण गर्दा हजारौं कामदारको निधन भएको भन्दै यसको आलोचनासमेत हुँदै आएको छ । यद्यपि यतिबेला कतार विश्वकपलाई जसरी भए पनि सफलतापूर्वक सम्पन्न गर्न लागिपरेको छ । फिफा विश्वकप -२०२२ को उद्घाटन खेल समूह ‘ए’ मा रहेका आयोजक कतार तथा इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा नोभेम्बर २० मा संचालन हुनेछ ।
पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागि विशेष तयारि गरेको छ भने यसका लागि खास रुपमा ८ वटा विशेष स्टेडियम समेत निर्माण गरेको छ । सहभागी राष्ट्रहरु कतारमा विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट चरण पार गरेका छानिएका हुन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिल देखि ६१औं वरीयतामा रहेको घानासम्म छन । विश्वकपमा छनोट भएका मध्ये घाना सबैभन्दा तल्लो वरीयताको टिम हो । शीर्ष दश वरीयता भित्र रहेको इटाली भने यस पटक छनोट हुन सकेन । एसियाबाट ६ राष्ट्र विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । कतार आयोजकका नाताले सिधै छनोट भएको हो भने जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् ।
अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । ती पाँचै टिम रुसमा अघिल्लो पटक सम्पन्न बिश्व कपमा पनि सहभागी थिए । कतारमा हुने विश्वकप – २०२२मा युरोपबाट सबैभन्दा धेरै १३ टिमले सहभागिता जनाउँदै छन् ।
यसैगरि अफ्रिकाबाट ५, दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट ४-४ टिमले कतार विश्वकप खेल्नेछन् । सबै विश्वकप खेल्ने देस ब्राजिल विश्वकप फुटबल भन्ने बित्तिकै ब्राजिलको सम्झना आउँछ । फुटबल, ब्राजिल तथा महान खेलाडी पेले पर्यावाची जस्तै भैसकेकाछन । ब्राजिलको नाममा अनौठो कीर्तिमान छ । अहिलेसम्म २१ पटक विश्वकप भएको छ र ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो । यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ ।
पेले तीन पटकको विश्वकप बिजेता भएका छन् । ब्राजिलले अब २२औं पटक विश्वकप खेल्दैछ । यसैगरि जर्मनीले १९ पटक विश्वकप खेलेको छ । यस्तै अर्जेन्टिनाले १७ तथा मेक्सिकोले १६ पटक विश्वपटक खेलेका छन् । चार पटकको च्याम्पियन इटाली छनोट भएन विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २११ सदस्य राष्ट्र छन् । त्यसमध्ये उत्कृष्ट ३२ राष्ट्र मात्र विश्वकपमा छनोट हुन्छन् । कतार विश्वकपमा नदेखिने सबैभन्दा ‘ठूलो’ राष्ट्र इटली हो ।
इटालीले ब्राजिलपछि ४ पटक विश्वकपको उपाधि जितेको छ । गत वर्ष युरोकपको उपाधि जितेको इटली कतार विश्वकपमा छनोट हुन सकेन । उसले विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफमा नर्थ मेसेडोनियासँग अप्रत्यासित रुपमा हार ब्यहोरेको थियो ।
प्रतिक्रिया