शुक्रबार, वैशाख १४, २०८१

बच्चालाई तोरीको तेलले फाइदा गर्दैन भनेर हामीले खराब क्रिम त दलिरहेका छैनौं ?

डा.अरुणा उप्रेती २०७९ कार्तिक २४ गते १०:५३

केहि दिन अघि एक स्वास्थकर्मीको घरमा दुई महिनाको छोरी हेर्ने समय मिलेको थियो स्वास्थकर्मीकोले छोरीलाइ विदेशी पाउडर र कृम लगाउदा रहेछन् । ‘तोरीको तेलले पो मालिश गर्नुपर्ने म भन्न पुगें, उनको कुरा थियो’ तोरीको तेल गनाउछ । मालिस गर्ने चलन छैन, ‘हामी त कृम र पाउडर लगाएर बास्ना आउने बनाउने हो’ मैले केहि भनिन । बोल्नु पनि के ? जाडोमा साना नानीलाई तोरीको तेल मालिश गर्नु त अति राम्रो हो भने मेरो विचार मैले भनिन । केही अघि मैले बालबालिकालाई ‘पाउडर होइन, तेलले मालिस गर्नुपर्छ’ भन्ने एक लेख लेखेपछि धेरै जनाको धेरै विचार आयो ।

‘तोरीको तेलले बच्चालाई एलर्जी गर्छ, स्वास्थ्यकर्मीले तोरीको तेल नलगाउनू’ भनेर एक व्यक्तिले मलाई भन्नुभयो। मैले भनें, ‘हो, बच्चालाई तोरीको तेलले सायद कसै-कसैलाई एलर्जी गर्न सक्छ। त्यो बेलामा प्रयोग नगर्ने । नत्र तोरी, नरिवल, तिलको तेलले मसाज गरे हुन्छ । तर, तेल मात्र लगाएर मालिस चाहिँ नगर्ने अनि सफा नगरेर गुम्स्याएर राख्ने र सफा नगरी चिसो लाग्छ भनेर तेलको लेप मात्र थपिदिने, तालु पुर्नलाई भनेर तालुमा तेल लगाएर टोपीले गुम्स्याउने, चिसो लाग्छ भनेर कोठाभित्र कोइलामा तेल तताएर बच्चा तताउनेजस्ता चलनले चाहिँ बेफाइदा गर्छ ।’

‘तेल लगाउँदैमा तेलको गन्ध आउँदैन तर सफा नगरे चाहिँ गन्ध आउँछ । गाउँघरमा सुत्केरी र नवजात शिशुले तेल लगाएर सफा नभएकोले कोठा नै गनाउँछ । किनभने सुत्केरीलाई चिसो लाग्छ भनेर झ्याल ढोका थुनेर राखिन्छ । यसले गर्दा सास सम्बन्धी र छालाको संक्रमणको खतरा बढ्ने भएकोले सायद केही स्वास्थ्यकर्मीले तेल लगाउन प्रोत्साहन नगरेको हुन सक्छ ।’

तालुमा तेल पटक-पटक लगाउने, गुम्स्याउने गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ । त्यो ढुसी भएपछि संक्रमण हुन्छ । गाउँघरमा सबै जनालाई बुझाउनुपर्छ कि तेलको लेपले तालु पुरिने नि हैन, तालु केही समयपछि आफैं पुरिन्छ । विदेशी भूमिमा चाहिँ अनेकथरीका क्रिमले बच्चालाई मसाज गर्न प्रेरित गर्ने हामी नेपालीहरू आफ्नो हजारौं वर्षको परम्परागत ज्ञान ‘तोरी, तिल, बदाम आदिको तेलले मसाज गर्नुपर्छ’ भन्दा ‘तोरीको तेल ठिक हुन्न’ किन भनेको बुझिनसक्नु छ ।

म त हजुरआमाले लगाएको तोरीको तेल लगाएर हुर्कें, अहिलेसम्म म तेल लगाउँछु । मेरी छोरीहरूलाई पनि लगाएँ । तर, यसो गर्दा आमा बच्चा दुबैलाई नियमित सफा गर्नु जरुरी छ । तेलले मालिस गरेपछि यदि नुहाउन सकिएन भने सफा बाक्लो कपडा भिजाएर त्यसले पुछे पनि हुन्छ पछि सुत्केरी तंग्रिएपछि तातो पानीले नुहाए हुन्छ । यसले मन र शरीरमा ताजापन ल्याउँछ । ‘सयौं-वर्षौंदेखि चलेको हाम्रा राम्रा चलन छन् तर तिनका फाइदा, वैज्ञानिक कारण बुझेर सही तरिकाले प्रयोग गर्दै अघि बढ्दा राम्रो हुन्छ,’ तेल लगाएपछि अलि सफाइ मात्र गर्नुपर्छ । यस्तो स्वस्थ परम्परा जसले हामीलाई स्वस्थ बनाएर पैसा जोगाउँछ, वातावरणको रक्षा गर्छ त्यस्तो ज्ञान किन अंगीकार नगर्ने त ?

प्रतिक्रिया