शनिबार, वैशाख २२, २०८१

राष्ट्रिय पञ्चायत भवन

सुनील उलक २०७८ फागुन १४ गते ११:२९

हुन त धेरैलाई यो भवन देख्दा पञ्चायतको भूतले सताउला । पञ्चायती व्यवस्था जन्मिएदेखि नै यो भवनमा राष्ट्रिय पञ्चायतको बैठक हुने गर्दथ्यो । हुन त पञ्चायती व्यवस्था सुरु हुनुअगाडि २०१५ को चुनावपछि महासभाको बैठक पनि यही भवनमा भएको थियो ।

यो भवनको कथा भने धेरै पुरानो छ । वि.सं. १९६५ असारमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिंहदरबारको संरचना बनाउँदा नै यो भाग पनि बनाएका थिए । तर बाठा चन्द्रशमशेरले भवन तयार भएपछि नेपाल सरकारलाई दुई करोडमा सिंहदरबारभित्रको सम्पूर्ण संरचना तथा जमिन पनि बेचे । तर प्रधानमन्त्रीको हैसियतले मृत्युपर्यन्त सिंहदरबारमै बसे ।

चन्द्रशमशेरले सिंहदरबार बनाउँदा मूल भवनको पछाडि नै निजी थियटर भवन पनि बनाएका थिए । जसलाई उनले ग्यालरी बैठक नाम दिएका थिए । यही ग्यालरी बैठकमा उनले नाचगान, भोजभतेर तथा विदेशी पाहुनाको स्वागत सत्कार गर्ने गर्दथे । २००४ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरले भारदारी सभा गठन गरेपछि यसको बैठक यही भवनमै गराए । २००४ सालको माघ १३ गते पहिलो भारदारी सभाको बैठकबाट नै ‘नेपाल सरकार वैधानिक कानुन २००४’ घोषणा भएको थियो । २००७ पुस २४ मा राणा प्रधानमन्त्री मोहनशमशेरले भारदारी सभा बोलाई राजा त्रिभुवनलाई राजा मान्न तयार रहेको प्रस्ताव यही भवनमा पारित गराएका थिए । देशमा प्रजातन्त्र आएपछि २००७ चैत २९ गते पहिलो भारदारीसभाको बैठक पनि यहीँ भएको थियो ।

सोही ग्यालरी बैठक नै देशको प्रथम निर्वाचित प्रनिनिधिका लागि महासभा भवन बन्यो । २०१६ असार १६ गते मंगलबारको दिन पहिलो महासभाको बैठक यही ग्यालरी बैठकमा भएको थियो । २०१७ पुस १ गते अचानक राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरेपछि राष्ट्रिय पञ्चायतको पहिलो अधिवेशन २०२० वैशाख १ गते आइतबारका दिन यही ग्यालरी बैठकमा बोलाइएको थियो । दोस्रो बैठक असार २० गते बिहीबार र तेस्रो बैठक माघ १५ गते बुधबार गरी एकै वर्षमा तीनवटा अधिवेशन बोलाइएको थियो ।पञ्चायतकालका सम्पूर्ण अधिवेशन यही ग्यालरी बैठकमै भए ।

पञ्चायतको समाप्तिपछि २०४८ सालको प्रथम चुनावपछिको २०४८ असार ६ गते बिहीबार यही ग्यालरी बैठकमै संसद्‌को पहिलो बैठक बोलाइएको थियो । २०५९ जेठ ८ गते राजा ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन भएको घोषणा गरे । यसअगाडिका सबै संसद्‌को बैठक ग्यालरी बैठकमै भए । राजनीतिक अन्योलपछि ०६२-६३ आन्दोलन पछि देशले एकपटक फेरि कोल्टे फेर्यो । २०६३ वैशाख ११ गते राजाबाट विघटित प्रतिनिधिसभालाई पुनर्स्थापना गरेको घोषणा भयो । यसपछि पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक २०६३ वैशाख १५ गते यही भवनमै भयो । यसरी २०६४ सम्म संविधानसभाको चुनावपूर्वका सबै बैठक यसै भवनमै भए ।

देशले पहिलोपटक संविधानसभा पायो । तर यो संविधानसभा देशले सोचेभन्दा ठूलो थियो । जनसंख्याको अनुपातभन्दा धेरै नै ठूलो थियो । ६०१ संविधान सभाको सदस्यहरु ग्यालरी बैठकमा अटाउने सम्भावना नै थिएन । जसले गर्दा काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरलाई नै अस्थायी रुपमा संविधानसभा भवनका रुपमा भाडामा उपयोग गर्न थाल्यो ।

No description available.

यसरी संविधानसभाको गठनपूर्वका १०० भन्दा बढी अधिवेशन यहिँ बाट भएको थियो । २०७२ को महाभूकम्पले आंशिक क्षति भएको यो भवन प्रयोगविहीन रुपमा रहेको थियो । पुरातत्त्वले मर्मत गरि जीर्णोद्धार गर्ने भनिए पनि प्रतिनिधि सभाको बिकास तथा प्रविधि समितीले भत्काउने निर्णय गरेको छ । एउटा सिङ्गो ईतिहास बोकेको भवनलाई गलत सोचले भत्काई ईतिहास मेट्ने तैयारी गर्दैछ ।

हालै सिंहदरबारभित्रकै पुतली बगैँचा क्षेत्र सेनाबाट प्राप्त भएपछि आफ्नै नयाँ संसद् भवन पुतली बगैंचामा बन्दै गरेको छ । गृह मन्त्रालयनजिकै अनामनगरतर्फको क्षेत्रमा रहेको हुँदा नयाँ बन्ने संसद् भवनका लागि अनामनगर तर्फबाट छुट्टै प्रवेशद्वार बनाइनेछ ।

प्रतिक्रिया