पार्कमा महिलालाई प्रतिबन्ध

काठमाडाैं । अफगानिस्तानको नैतिक पुलिसले देशका सबै मनोरञ्जन पार्कमा महिलाहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ । तालिबानले अफगान महिलामाथि पहिलेदेखि नै अनेकौं प्रतिबन्ध लगाउँदै आएको छ । यसक्रममा यो नयाँ आदेशले महिलाको स्वतन्त्रतालाई थप बाधा पार्ने बताइएको छ । गत वर्ष अगस्टमा सत्तामा फर्किएपछि तालिबानले महिलाहरुको सार्वजनिक गतिविधिहरुमा प्रतिबन्ध लगाएको छ, जसले उनीहरूको रोजगारी र शिक्षा जस्ता आधारभूत अधिकारलाई असर गरिरहेको छ ।
के छ तालिवानको नयाँ आदेशमा ?
‘सद्गुणको प्रवर्द्धन र दुष्टताको रोकथाम’ मन्त्रालयका प्रवक्ताले यस विषयमा समाचार एजेन्सी रोयटर्सले सोधेको प्रश्नमा प्रतिबन्धको पुष्टि गरे तर थप जानकारी भने दिएनन् । यसैगरि दुई वटा मनोरञ्जन पार्कका प्रबन्धकले नाम उल्लेख नगर्ने सर्तमा रोयटर्ससँग भने- तालिबानले उनीहरूलाई आफ्नो पार्कमा महिलाहरूलाई प्रवेश नदिन भनेको छ । यद्यपि यी नयाँ प्रतिबन्ध कसरी लागू हुनेछन् भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन् ।
केही दिनअघि ‘पुण्य प्रवद्र्धन तथा दुष्टता निवारण’ मन्त्रालयले महिला तथा पुरुषका लागि छुट्टाछुट्टै पार्क तयार गर्नुपर्ने नियम बनाएको थियो भने निकुञ्जमा महिला र पुरुषका लागि छुट्टाछुट्टै दिन तोक्नुपर्ने भनिएको थियोे । तालिबानले महिला अधिकारलाई कुन्ठित गर्ने काम जारिराखेको छ । गत वर्ष अफगानिस्तानबाट नेटो सेनाको अचानक फिर्ता पछि सत्तामा आएका कट्टरपन्थी शासकहरूले बालिकाहरूलाई माध्यमिक शिक्षा लिन समेत रोक लगाएका छन् ।
केही समय अघि मार्च देखि सबै बालिका उच्च माध्यमिक विद्यालय खोल्ने संकेत गरिए पनि अहिलेसम्म त्यसको पालना भने भएको छैन । देशमा महिला अधिकारका लागि थुप्रै प्रदर्शन नभएका होइनन् , तर तालिबान अधिकारीहरूले शिक्षा, रोजगारी र स्वतन्त्रताको महिला अधिकारको विरोध गर्ने कार्यकर्ताहरूको आन्दोलनको दमन गरे । हत्यारालाई कारबाही नहुँदा महिला हत्याका घटना पनि बढेको समाचारमा जनाइएको छ । यति मात्र होइन, तालिबानले महिलालाई पुरुष आफन्तबिना घरबाट बाहिर ननिस्कन र अनुहार छोप्न निर्देश जारि गरेको छ ।
शिक्षा, स्वास्थ्य र प्रहरी जस्ता निश्चित क्षेत्रमा पुरुषसँगै काम गर्न नपाउने गरी काम गर्न दिइने भए पनि सार्वजनिक सेवाका धेरैजसो पदबाट महिलाहरुलाई वञ्चित गरिएको छ । अगस्टमा संयुक्त राष्ट्रसंघले जारि गरेको एक प्रतिवेदनले भनेको छ – ‘अफगानिस्तानमा महिला तथा बालिकाहरूका लागि बढ्दो खतरनाक र निराशाजनक अवस्थाले आत्महत्या गर्ने महिलाहरूको संख्या वृद्धि गरेको छ।’ स्रोत : रोयटर्स

प्रतिक्रिया