हिमालय क्षेत्रमा ठूलो भूकम्प जाने खतरा

काठमाडाैं । नेपालका साथै भारतका विभिन्न भागमा गएको भूकम्पका कारण यो साता धेरै मानिस त्रसित भए भने उक्त भूकम्पले नेपालमा ६ जनाको ज्यान नै लियो । यसबीच भारतस्थित डा. वाडिया इन्स्टिच्युट अफ हिमालयन जीओलोजीका वैज्ञानिकहरूले हिमालय क्षेत्रमा भूकम्पको खतरा रहेको कुरा बताउँदै यसले ठूलो भूभागलाई प्रभावित तुल्याउन सक्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा जनधनको क्षति न्यूनीकरण गर्न राम्रो तयारी गरिनु आवश्यक छ ।
आईआईटी कानपुरको भू-विज्ञान विभागका प्राध्यापकहरूले पनि भविष्यमा ठूलो भूकम्प जाने सम्भावना व्यक्त गरेका छन् । पृथ्वीमुनि इन्डियन प्लेट र युरेशियन प्लेटबीचको टक्कर बढ्दै गएको उनिहरुको भनाइ छ । भूकम्प सम्बन्धि अनुसन्धान गर्ने वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजी, देहरादूनका वैज्ञानिकहरूका अनुसार हिन्दुकुश पर्वतदेखि उत्तरपूर्वी भारतसम्मका हिमाली क्षेत्र भूकम्पको जोखिममा छन् । यसको खतरालाई सम्बोधन गर्न प्रभावकारी नीतिहरू अबलम्बन गरिएको छैन्, जुन चिन्ताजनक छ । भूकम्पको जोखिममा परेको क्षेत्रको वृद्धिले हिमालय क्षेत्रको जनसंख्यामा पनि परिवर्तन आउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
हिमाली क्षेत्रमा भौगर्भिक ऊर्जा सञ्चित हुने अनि नयाँ भूस्खलन देखा पर्ने क्षेत्रलाई मध्यनजर गर्दै सुरक्षित बासस्थान पहिचान गर्न विज्ञहरूले सुझाव दिएका छन् । डा. वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका भूबैज्ञानिक अजय पलका अनुसार , “भारतीय प्लेटमा युरेशियन प्लेटको निरन्तर दबाबका कारण यसको मुनि सञ्चित ऊर्जा भूकम्पका रूपमा आवधिक रूपमा निस्कन्छ। भूकम्प एक सामान्य र निरन्तर प्रक्रिया हो तर जहिले पनि ठूलो भूकम्प जाने प्रबल सम्भावना रहन्छ । उनका अनुसार आगामी भूकम्पको तीव्रता रेक्टर स्केलमा सात वा त्यस भन्दा बढी हुनसक्छ । यद्यपि त्यस्तो भूकम्प कहिले आउने हो अहिले नै भन्न सकिने अवस्था छैन ।
विगत १५० वर्षमा हिमाली क्षेत्रमा चारवटा ठूला भूकम्प गएका छन् । जसमा सन् १८९७ को शिलङ, १९०५ को काङ्गडा, १९३४ को बिहार-नेपाल तथा सन् १९५० को असम भूकम्प छन् । त्यसपछि सन् १९९१ मा उत्तरकाशी, १९९९ मा चमोली र २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएका थिए । भूकम्पबाट जोगिन ठोस रणनीति अपनाएर जनधनको क्षति धेरै हदसम्म कम गर्न सकिने वैज्ञानिकहरुको राय छ । विज्ञहरूले यस विषयमा जापानको उदाहरण दिएका छन्।बारम्बार मध्यम तीव्रताका भूकम्प गए पनि राम्रो तयारीका कारण त्यहाँ धेरै जनधनको क्षति नभएको भूवैज्ञानिकहरु बताउँछन ।
धेरै वैज्ञानिकहरू के कुरामा सहमत छन् भने भूकम्पलाई पहिले नै रोक्न वा यसकोभविष्यवाणी गर्न सम्भव छैन तर जोखिमयुक्त क्षेत्रमा भूकम्प प्रतिरोधी निर्माण प्रवर्द्धन गरी स्थानीय जनतामा सचेतना अभियान सञ्चालन गरेर भूकम्प आए पछि हुने जनधनको क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

प्रतिक्रिया