विकास र समृद्धिको सपना बाँड्दै बागलुङका उम्मेदवार

गलकोट । बागलुङका उम्मेदवारले बागलुङको विकास र समृद्धिको सपना लिएर निर्वाचनको मैदानमा उत्रेका छन् । बागलुङमा चुनावी मैदानमा उत्रिएका अधिकांश उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धतापत्रअनुसार बागलुङको विकासका लागि ठूला सडक कालोपत्र गर्ने, विमानस्थल चलाउने, शिक्षा र स्वास्थ्यको विकासमा काम गर्ने र समग्र बागलुङलाई राष्ट्रिय विकाससँग जोड्ने उल्लेख गरेका छन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट जारी भएको प्रतिबद्धतापत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र संस्थागत विकासका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा राष्ट्रिय राजनीतिमा बागलुङको आवाजलाई बुलन्द गर्न, अलपत्र विकासका योजना अगाडि बढाउन, सम्मुनत बागलुङ, सम्मानित बागलुङवासी बनाउनका लागि निर्वाचनमा आएको उल्लेख गरिएको छ ।
प्रतिबद्धतापत्रमा कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग कालोपत्र गर्नमा पहल गर्ने, पालिका केन्द्रसम्म पक्की सडक पुर्याउने, वडाको केन्द्रसम्म स्तरीय सडक पुर्याउने, व्यवसाय सञ्चालनमा युवालाई अनुदानका कार्यक्रम ल्याउने, धवलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने, मनोपरामर्श केन्द्र स्थापना गर्ने, कृषिमा आत्मनिर्भर गराउने, महत्वपूर्ण पर्यटकीयस्थलको विकास गर्नेलगायत प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
सांसदले संसद्मा नीति बनाउँदै विकासमा सहज बातावरण बनाउने भए पनि जनतासामु विकासको माग धेरै रहेको गठबन्धनबाट बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए ।
‘संसद्को काम भनेको नीति निर्माण गर्ने हो, विकास निर्माणमा मन्त्रालय छ तर जनताको आवाज विकासमा छ, मैले नै संसद् विकास कोष चाहिँदैन भन्दै हिँडे, अहिले जनतासमक्ष पुग्दा कोष चाहिने रहेछ भन्ने लाग्यो’, केसीले भने, ‘बागलुङ विकासमा पछाडि छ, बागलुङको समग्र विकासमा हाम्रो गठबन्धनको मुख्य भूमिका रहन्छ ।’
गठबन्धनको तर्फबाट जारी भएको घोषणापत्रमा बस्ती विकास, वैकल्पिक ऊर्जा, खानेपानीको पहुँच, उद्योग, व्यापार र रोजगारीलाई बढी जोड दिइएको छ । यस्तै नेकपा (एमाले)को तर्फबाट सार्वजनिक भएको घोषणापत्रमा बागलुङका ठूला योजनाबाटै समृद्धि हासिल गर्न सकिने उल्लेख गरिएको छ । घोषणापत्रमा पर्यटनबाट बागलुङको विकास गर्न सकिने र निकै सस्तो परियोजनाका रूपमा रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना सुरु गर्न सरकारलाई दबाब दिने, ढोरपाटन क्षेत्रको विकास गर्नेलगायतका योजना घोषणापत्रमा समावेश गरिएको छ ।
एमाले बागलुङले जारी गरेको घोषणापत्रमा ग्रामीण सहरलाई प्रविधिमैत्री बनाइने, सिटीहल निर्माण गरिने, एक पालिका एक बारुणयन्त्र खरिद गर्ने, बलेवा विमानस्थललाई सञ्चालनमा ल्याइने, एक वडा एक सहकारी, घर–घरमा रोजगारी, एक घर एक स्वरोजगार, बाङ्गेचौरलाई रङ्गशाला निर्माण गरिने, उद्यमीसँग हाम्रो बाँचा मेड इन बागलुङको ब्राण्डिङ र बजारीकरण, भूमिहीन र सुकुम्बासीसँग हाम्रो सङ्कल्प सबैको हातमा लालपुर्जालगायतका योजना समावेश गरिएको छ ।
एमालेबाट बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार डा सूर्य पाठकले जनतालाई विकाससँग जोड्दै समग्र बागलुङको विकास र समृद्धिका लागि एमालेको जित आवश्यक रहेको बताउँदै आफ्ना एजेण्डासहित निर्वाचनमा होमिएको जानकारी दिए ।
‘मैले पाँच वर्षमा बागलुङका थुप्रै समस्याका विषयमा सदनमा राखेको छु, बागलुङका ठूला विकासे योजना निर्माणमा सहकार्य गरेको छु, अस्पतालमा आइसीयू बनाउनसमेत संसद् विकास कोषको रकम हालेको छु’, निर्वतमान सांसदसमेत रहनुभएका डा पाठकले भने, ‘पाँच वर्षमा केही कामको थालनी भएको छ, बलेवा विमानस्थल कालोपत्र भएको छ, कालीगण्डकी करिडोर कालोपत्रको चरणमा पुगेको छ, थुप्रै अधुरा काम गर्नका लागि पुनः पार्टीले चुनावी मैदानमा पठाएको छ ।’
एमालेको स्थानीय प्रतिबद्धतापत्रमा भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र बनाउने, जीर्ण सडकको स्तरोन्नति, पालिका जोड्ने सडक कालोपत्र र वडालाई स्तरीय सडक कालोपत्र गर्नेलगायतका योजना सार्वजनिक गरेको छ । यस्तै अन्य साना दलले समेत आफ्ना विकासे एजेण्डासहित चुनावी प्रचार–प्रसारमा लागेका छन् । बागलुङमा दुई प्रतिनिधि र चार प्रदेश सांसदको पदमा ३१ जना चुनावी मैदानमा रहेका छन् । रासस

प्रतिक्रिया