खेरसनमा युक्रेनी झण्डा फहराइयो !

काठमाडाैं । युक्रेनको दक्षिणमा अवस्थित खेरसन सहरका बासिन्दाले युक्रेनी सेनालाई सहरमा स्वागत गरेका छन् । गएराति सहरको मध्य भागमा बनेको चोकमा जम्मा भएका मानिसहरूले देशभक्ति गीत गाएर सेनाको स्वागत गरेका थिए ।
युक्रेनी सेना शुक्रबार सहरमा प्रवेश गरेको थियो । स्थानीय प्रान्तीय गभर्नरले भनेका छन् । नेप्रो नदीको पश्चिमको सम्पूर्ण क्षेत्र रूसी सेनाको फिर्ती पछि एक गोली नचलाई अब युक्रेनी नियन्त्रणमा छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसलाई ऐतिहासिक दिन बताएका छन् भने युक्रेनको विशेष बल सहरमा प्रवेश गरेको र धेरै सैनिकहरू सहरको बाहिरी भागमा पर्खिरहेको जानकारी दिएका छन् । जेलेन्स्कीले भने,’ खेरसोन हाम्रो सहर थियो। हामीले देशको दक्षिणी भाग फिर्ता लिएका छौं। खेरसनका नागरिकहरू हामीलाई पर्खिरहेका थिए तर उनीहरूले युक्रेन प्रतिको आशा छोडेनन् ।’
उनले रुसी सिपाहीहरूलाई सन्देश दिँदै भनेका छन् , ‘म खेरसन र दक्षिणका अन्य सहर छोडेर जाने रुसी सैनिक, भाडाका सैनिक तथा सेनाका अन्य सहयोगीहरूलाई भन्न चाहन्छु कि यदि तपाईंहरु जोगिन चाहनुहुन्छ भने युक्रेन समक्ष आत्मसमर्पण गर्नु नै उपयुक्त विकल्प हो । हामी तपाईंहरुसँग कानून र अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवहार गर्नेछौं भन्ने ग्यारेन्टी दिन्छौं।’
कीभमा रहेका युक्रेनका उपरक्षा मन्त्री भोलोडिमिर ह्भ्रिलोभले खोरसानको जितले युक्रेनी नागरिकको बलियो इच्छाशक्ति झल्काउने बताएका छ्न् ।
‘सेप्टेम्बरमा हामीले प्रतिआक्रमण अभियान सुरु गर्यौं र दुई हप्ता भित्र हामीले युक्रेनको पूर्वमा रहेको हाम्रो दश हजार वर्ग किलोमिटर जमिनलाई उनीहरूको कब्जाबाट मुक्त गरायौं । अब दुई दिनमा हामीले ४ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेका छौं।’ उनले भने, ‘हामीले आफ्नो भुभाग फेरि कब्जामा लिएका छौं, यो त हामीले आफ्नो काम पूरा गर्न सक्ने संकेत मात्रै हो ।
उनले आफ्ना सर्तहरू नमान्दासम्म रुससँग वार्ताको सम्भावना नरहेको पनि बताए । उनले भने, ‘युक्रेनमा कसैले पनि रुसलाई विश्वास गर्दैन । त्यसैले रसिया युक्रेनबाट पूर्णतया बाहिर नगए सम्म वार्ता हुँदैन ।’
उनले भने, ‘हामी रुससँग वार्तामा होइन, हाम्रो भूभागलाई उनीहरूको कब्जाबाट मुक्त गराउनमा केन्द्रित छौं । यदि रुस यहाँबाट छाड्न र आफूले गरेको क्षतिको क्षतिपूर्ति दिन तयार छ भने हामी उनीहरूसँग वार्ता गर्न तयार छौं ।’ रुसले खेरसन क्षेत्रबाट करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको र हतियारसहित ५ हजार सैन्य उपकरण पनि निकालिएको जनाएको छ ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ताले खेरसन रुसको हिस्सा भएको र यो तथ्यलाई परिवर्तन गर्न नसकिने बताएका छन् । चार हप्ताअघि रुसले यहाँ तथाकथित जनमत संग्रह गराएर खेरसनलाई आफ्नो क्षेत्र घोषणा गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय समुदायले यो जनमत संग्रहलाई मान्यता दिएन । गएको बुधबार रुसी कमाण्डर जनरल सर्गेई सुरोभिकिनले रुसी सेनालाई खेरसनबाट बाहिर निकालिने बताएका थिए ।
खेरसन यस वर्षको फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि रुसी सेनाले कब्जा गरेको एक मात्र प्रान्तीय राजधानी थियो । खेरसनबाट रुसी सेना फिर्ता हुनु रुसका लागि ठूलो धक्का मानिएको छ । युक्रेनको खेरसनबाट रुसी सेना बाहिरिने क्रममा त्यहाँको क्षेत्रीय प्रशासन भवनमा युक्रेनी झण्डा समेत फहराइएको छ ।
बीबीसी








प्रतिक्रिया