उम्मेदवारको प्राथमिकतामा परेन वन्यजन्तु र निकुञ्जको समस्या

चितवन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन अब आठदिन मात्रै बाँकी छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्ना एजेन्डासहित मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा पनि उम्मेदवार आ-आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलो पुगेका छन् । विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगे पनि वर्षौँदेखि वन्यजन्तु र निकुञ्जको समस्याबाट पीडित जनताको विषयमा भने उम्मेदवारका प्रतिबद्धता र घोषणापत्रमा चासो र महत्त्व दिएको पाइएको छैन ।
चितवन राष्ट्रिय निकुञ्जको प्रभावित क्षेत्र पूर्वी नवलपरासीका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका मध्यवर्ती क्षेत्रमा बस्ने बासिन्दाले वर्षौंदेखि वन्यजन्तु र निकुञ्जका कारण भोग्नुपरेका समस्या उम्मेदवारको प्राथमिकतामा नपर्दा निर्वाचन आए पनि उत्साह छैन ।
‘दुःख गरेर लाएको खेती हरेक वर्ष निकुञ्जबाट निस्केका वन्यजन्तुले सखाप पारिदिन्छन्, वन्यजन्तु रोकथाम त परै जाओस् क्षतिपूर्ति पनि पाइँदैन,’ कावासोती-१७ का मनोज महतोले भने, ‘उम्मेदवार भोट माग्न आएका छन्, ठूला-ठूला योजना सुनाउँछन्, वन्यजन्तु रोकथामको योजना नै छैन ।’
वन्यजन्तु मात्रै होइन वि.सं २०५२ मा जारी भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन र परिमार्जन नहुँदा विकास निर्माणमा अवरोध भएको देवचुली-१५ का वसन्त पोखरेलले बताए । विकास निर्माण मात्रै नभइ मध्यवर्ती क्षेत्रका जनतालाई व्यापार व्यवसायका लागि साना उद्योग खोल्नका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली बाधक बनेको पोखरेल बताउँछन् । ‘विकास निर्माण तथा व्यापार व्यवसायका लागि बाधक बनेको नियमावली संशोधन गरेर जनमुखी बनाउनेतर्फ कुनै उम्मेदवारको प्रतिबद्धता देखिएन,’ पोखरेलले भने ।
उम्मेदवारहरूले वन्यजन्तु र निकुञ्जको समस्यालाई प्राथमिकतामा नपारेको देख्दा महतो र पोखरेल जस्तै निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश बासिन्दालाई आगामी निर्वाचनले छुन सकेको छैन । ‘वर्षौँदेखि भोट दिएर जिताउँदै आइयो । हाम्रो मुख्य समस्या कहिल्यै सम्बोधन भएन,’ विनयी त्रिवेणी-६ की कृपा अर्यालले भनिन् ।
पूर्वी नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा विशेष गरेर नेपाली कांग्रेस र नेकपा ९एमाले० का उम्मेदवारका बीच प्रतिस्पर्धा हुने देखिए पनि कांग्रेस, एमालेसहित दलका र अन्य स्वतन्त्र उम्मेदवार कसैले पनि वन्यजन्तु र निकुञ्जका कारणबाट भोग्नुपरेको समस्याको विषयलाई महत्वका साथ उठाएको देखिँदैन । -रासस

प्रतिक्रिया