शेखर विराशत फर्काउने र पण्डित साख जोगाउने कसरतमा

काठमाडौं । निर्वाचन नजिकीदैजाँदा हेभीवेट प्रतिष्पर्धाका रुपमा हेरिएको विराटनगर- ६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डीतबीच प्रतिष्पर्धा हुनेभएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा.कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन् । २०७४ को चुनावमा ६७५ मतान्तरले मात्रै अघि पछि भएका यीनै प्रष्पिर्धी फेरी पनि मैदानमा उत्रीएपछि यो क्षेत्रलाई चासोकासाथ हेरिएको मोरङका स्थानीयहरु बताउँछन ।
गत निर्वाचनमा कोइरालालई पछि पारेका तत्कालिन वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाएका थिए भने डा.कोइरालाको पक्षमा ३३ हजार २६६ मत आएको थियो । उक्त निर्वाचनमा सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । यस पटक डा.कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित शंशकित देखिन्छन् । मुलुकको तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा.शेखर भावी प्रधानमन्त्रीको दौडमा नभइ सदन प्रवेशको कसरतमा रहेको बताउछन् ।
‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु’, कोइरालाले भने, ‘मोरङबासी मात्र नभइ मुलुककै समृद्धिको पक्षमा छु । राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प छ ।’ यस पटक मोरङमा कांग्रेसभित्र समस्या नभएको र गठबन्धनको सहयोग रहेकाले चुनाव जित्न सहज हुने उनको बुझाइ छ ।
‘अहिले हामी एक छौं’, उनले भने, ‘गठबन्धन एकढिका छ । मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ । अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यक्ता पुर्ति गर्न मंसिर ४ कुरिरहेका छन् । मलाई रोज्न आतुर छन् ।’
विराटनगर प्रजातन्त्रको जग भएकाले यस पटक शेखर कोइरालाको जित पक्का हुने नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए । उनले भने, ‘यो प्रजातन्त्रको जग हो, पबित्र मन्दिर हो । कृष्णप्रसाद, वीपी, जीपी र अब डा. शेखर, डा.शंशाक र सुजाता दिदीले यसको विरासत धान्छन् । इतिहास जोगाउनु हुन्छ । यसपाली जनमत उहाँहरुको पक्षमा आउनेमा हामी ढुक्क छौं ।’

प्रतिक्रिया