निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने

नेपालखोज २०७९ कार्तिक २८ गते २१:०७

काठमाडाैं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लामा हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन् ।

फ्रि मिडिया नेटवर्कद्वारा हेटौँडामा आज आयोजित निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तक्र्रिया कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउनका लागि आचारसंहितालाई सबैले पालना गरी आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

आचारसंहिता विपरीत काम गर्नेलाई कारबाही भइरहेको उल्लेख गर्दै उनले मतदाता शिक्षा अझै प्रभावकारी बनाउनुपर्ने तर त्यस्तो नभएको बताए । मकवानपुर जिल्लामा एक सय ६७ मतदानस्थल र तीन सय ६४ मतदान केन्द्र रहेकाले निर्वाचनका लागि दुई हजार नौ सय १२ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए ।

साथै प्रत्येक मतदान केन्द्रमा ११ सुरक्षाकर्मी खटिने उल्लेख गर्दै मतदान अधिकृतसहित कर्मचारीलाई मतदान केन्द्रमा खटाउने कार्य सुरु भएको उनले बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आसन्न निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहको जनाउँदै समाचर सङ्कलनका लागि सहज वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचनमा पत्रकार आचारसंहिता पालना गर्दै स्वतन्त्र र तटस्थ भएर कलम चलाउन पत्रकारलाई आग्रह गरे । उनले सञ्चारमाध्यम र सञ्चारकर्मी सदैव जिम्मेवार भएर प्रस्तुत भइरहको बताउँदै निर्वाचन निष्पक्षरूपमा गराउन आग्रह गरे ।

प्रतिक्रिया