आइतबार, जेठ ५, २०८२

अफगानिस्तानमा सरिया कानुन अन्तर्गत सजाय दिन आदेश

नेपालखोज २०७९ कार्तिक २८ गते २१:४३

काठमाडाैं । तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई केही अपराधमा इस्लामिक सरिया कानुनका आधारमा सजाय दिन आदेश दिएका छन् । ती सजायहरूमा ढुङ्गा हान्ने सजाय आदि समावेश छ । तालिवानका प्रवक्ताले डकैती, अपहरण र देशद्रोह जस्ता अपराधमा इस्लामिक शरिया कानूनका आधारमा सजाय दिनुपर्ने बताएका छन् ।

सन् १९९० को दशकमा तालिबानले सत्ता हातमा लिएपछि त्यस्ता सजायका लागि विश्वभरि नै उसको निन्दा भएको थियो। ती सजायमा सार्वजनिक मृत्युदण्ड पनि समावेश थियो । गत वर्ष तालिबानले फेरि सत्ता हातमा लिएपछि उनीहरूले संयमित शासन गर्ने वाचा गरेका थिए । यद्यपि अहिले तालिबानका सर्वोच्च नेताले कानूनको उल्लङ्घन गरी अपराध गरे न्यायाधीशहरूले शरिया अनुसार अपराधीहरूलाई सजाय दिनुपर्ने बताएका छन् ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार अबेर ट्वीट गर्दै मुल्लाह अखुन्दजादाले न्यायाधीशहरूको समूहलाई भेटेर त्यस्तो ‘अनिवार्य’ आदेश जारी गरेको बताएका हुन् । ‘चोर, अपहरणकर्ता तथा देशद्रोहका अपराधीहरूको होसियारीपूर्वक अनुसन्धान गर्नुहोस्’ प्रवक्ताले अखुन्दजादालाई उद्धृत गर्दै भनेका छन् । यद्यपी तालिबानले कुन अपराधमा कस्तो सजाय दिने भन्ने स्पष्ट कुरा भने खुलाएको छैन ।

प्रतिक्रिया