निर्वाचन आयोगले कल सेन्टरमा दियो यस्तो जबाफ

काठमाडाैं । निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नम्बर ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्छन् । २४ घण्टा नै खुला रहने यो फोन नम्बर मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिन्छन भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ जसको जवाफ पछि कर्मचारीहरूले दिन्छन् ।
हालसम्म कलसेन्टरमा आएका विभिन्न जिज्ञासा मध्ये सबैले बुझ्नुपर्ने केही महत्वपूर्ण प्रश्न तथा जवाफ यस्ता छन् :
भूमि आयोगले एलानी जग्गा नापजाँच गर्दा आचारसंहिता विपरीत हुन्छ कि हुंँदैन ?
आयोगको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नापजाँच गर्न पाइन्छ । तर निर्वाचनको मिति घोषणा भइसके पश्चात् जग्गा वितरण प्रयोजनार्थ वा मतदातालाई प्रभाव पार्ने तवरले उक्त कार्य गरेमा आचारसंहिता विपरीत हुन्छ । त्यसो गर्न पाइँदैन ।
नेपाली सेना निर्वाचनको सुरक्षाको बाहिरी घेरामा रहनुहुन्छ । उहाँहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने कि नपाउने ?
निर्वाचनको काममा खटिनुभएका संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मीको अस्थायी मतदाता नामावलीमा नाम दर्ता भइ सो नामावली प्रमाणित भइ आएमा उनीहरू प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनुहुन्छ तर निर्वाचनमा खटिने शिक्षकहरूका लागि उक्त व्यवस्था छैन ।
समानुपातिक तर्फका उम्मेद्वारलाई कसले परिचयपत्र दिन्छ ?
समानुपातिकतर्फका उम्मेद्वार राजनीतिक दल हुने भएकाले हालसम्म उम्मेदवारलाई परिचयपत्र दिने व्यवस्था छैन ।
निर्वाचन र्यालीमा कतिवटा सवारी साधन प्रयोग गर्न पाइन्छ ?
निर्वाचन आचारसंहिता २०७९ अनुसार निर्वाचन प्रचारप्रसारको क्रममा जुलस वा आमसभा गर्दा चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न पाइँदैन ।
दृष्टिविहीनले कसरी मतदान गर्ने ? निजले इच्छाएको व्यक्तिले पाउने हो ?
दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपांगताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसँग गई आफ्नो रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसङ्केत गर्न लगाउन सक्नेछ । साथै, कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मतसंकेत गर्न नसक्ने भई मतसंकेत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्न सक्ने व्यवस्था छ ।
निर्वाचनमा खटिने कर्मचारीको सूची कहाँबाट हेर्न सकिन्छ ?
सम्बन्धित निर्वाचनको अधिकृतको कार्यालयमा टाँसिएको सूचना वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट लिन सकिन्छ ।
४ थरीका मतपत्रमा के कसरी मतदान गर्ने हो ? पुरै प्रक्रिया बताइदिनुहोस् न ।
मतदाताले सर्वप्रथम प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि रातो रङ निर्वाचन चिन्ह भएको मतपत्र पाउनुहुने छ । उक्त मतपत्र लिएर गोप्य कोठामा गई मतदान गरी १ नम्बर स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ । दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिइ गोप्य कोठमा भएर मतदान गरी २ नम्बर स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।
तेस्रो चरणमा प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीको लागि रातो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिई मतदान गरी ३ नम्बर स्टिकर टाँसिएको मतपेटिकामा मत खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्रमा मतदान गरी मतपेटिका ४ नम्बर स्टिकर टाँसिएको मतपत्रमा मत खसाउनुपर्छ ।
उम्मेद्वारले आफ्नो प्रतिनिधिमार्फत निर्वाचन प्रचारप्रसारका लागि खर्च गरेमा निज प्रतिनिधिको खाता नम्बर निर्वाचन उकार्यालय वा निर्वाचन आयोगमा पहिले नै जानकारी गराउनुपर्ने हो ?
जानकारी गराउनुपर्छ ।

प्रतिक्रिया