विश्वकप क्रिकेट २०२३ : नेपाली क्रिकेट प्रेमी पनि प्रत्यक्षदर्शी हुने अवसर

नेपालखोज २०७९ कार्तिक २९ गते १७:३०

काठमाडौं । भारतले पहिलो पटक एकल रुपमा विश्वकप क्रिकेटको आयोजना गर्न पाएको छ । यसअघि भारतले छिमेकी राष्ट्र पाकिस्तान र श्रीलंकासँग मिलेर विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको थियोे । भारतले सन् १९८७, १९९६ तथा २०११ मा संयुक्त रुपमा विश्वकप क्रिकेटको आयोजना गरिसकेको छ । भारतले पुरै विश्वकप क्रिकेट प्रतियोगिता एक्लैले संचालन गर्ने यो अवसर २०२३ जुटदैछ जहाँ नेपाली क्रिकेट प्रेमीहरुले पनि प्रत्यक्षदर्शी हुने अवसर जुटाउन सक्नेछन् । यसका लागि भारतका १० वटा सहर छनोट गरिसकिएको छ जहाँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका सबै खेल खेलाइनेछ ।

के छ विश्वकप २०२३ को तालिकामा ?

आईसीसीको यो सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२३ को अक्टोबर-नोभेम्बरबीच संचालन हुनेछ । एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेल १४ अक्टोबर २०२३ मा हुनेछ भने पहिलो सेमिफाइनल नोबेम्बर २३ मा हुनेछ । दोस्रो सेमिफाइनल खेल नोबेम्बर २४ मा संचालन हुनेछ । विश्वकपको विश्वकप क्रिकेट प्रतियोगिता- २०२३ को फाइनल खेल नोबेम्बर २६ मा हुने तय भएको छ ।

बीसीसीआईका अधिकारीहरुका अनुसार विश्वकपका खेलहरु भारतका १० वटा ठूला सहरमा आयोजना गरिनेछ ।
विश्वकपका खेल संचालन हुने सहरहरु : एकना स्टेडियम लखनऊ, ग्रीन पार्क स्टेडियम कानपुर, इडेन गार्डेन कोलकाता, एमए चिदम्बरम स्टेडियम चेन्नई, अरुण जेटली स्टेडियम दिल्ली , नरेन्द्र मोदी स्टेडियम अहमदाबाद , राजीव गान्धी स्टेडियम हैदराबाद, वानखेडे स्टेडियम मुम्बई, पिसिए स्टेडियम मोहाली पञ्जाब तथा एम चिन्नास्वामी स्टेडियम, बेंगलुरु ।

फाइनल खेल कहाँ हुनेछ ?

विश्वकपको फाइनल खेल कोलकाताको इडेन गार्डेनमा हुने विश्वास गरिएको छ । यद्यपी यसको निर्णय भइसकेको छैन तर सेमिफाइनल वा फाइनल खेल इडेन गार्डेनमा नै हुने निश्चित छ । फाइनल हुनसक्ने स्टेडियमको रेसमा दिल्ली र मुम्बईका स्टेडियम समेत छन र यसको निर्णय छिट्टै लिईने बताइएको छ । यसक्रममा यूपीको राजधानी लखनऊ र अर्को ठुलो सहर कानपुरले पहिलो पटक विश्वकपको खेल हेर्न पाउनेछन् ।

स्टेडियमको कुरा गर्ने हो भने, फाइनल बढि दर्शक क्षमताको रंगशालामा खेलाउन सकिन्छ । त्यो स्टेडियम अहमदाबादको नरेन्द्र मोदी स्टेडियम हो जसको क्षमता १ लाख ३२ हजार छ । जबकि कोलकाताको इडेन गार्डेनको कुल क्षमता ६६ हजार दर्शक छ ।

प्रतिक्रिया