आचारसंहिता उलंघनका चार सय ८१ घटनाको तथ्यांक सार्वजनिक

नेपालखोज २०७९ मंसिर १ गते १३:३५

काठमाडौं । इन्सेकले निर्वाचन आचारसंहिता जारी भएदेखि कात्तिक २९ गतेसम्मको अवधिमा चार सय ८१ वटा आचारसंहिता उल्लंघनका घटना अभिलेख गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले मङ्सिर १ गते जारी गरेको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

‘इन्सेकले सातै प्रदेशमा रहेका प्रदेश कार्यालय र ७७ ओटै जिल्लामा रहेका जिल्ला प्रतिनिधि तथा ७ सय ५० जना निर्वाचन पर्यवेक्षकहरूमार्फत यस्ता घटनाका तथ्य/तथ्यांक संकलन गरेको हो ।’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा नेपाली कांग्रेसबाट १ सय ४९, नेकपा माओवादी केन्द्रबाट १ सय १५ र नेकपा एमालेबाट ८० ओटा आचारसंहिता उल्लङ्घनका घटना भएका उल्लेख गरिएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट ६८, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २४ र राज्य पक्षबाट ११ ओटा आचारसंहिता विपरितका घटना भएका छन् । अभिलेखित घटना अनुसार सबैभन्दा बढी ठूलो सङ्ख्यामा जुलुस निकालेका १ सय ४४ घटना छन् । त्यसैगरी ठूलो आकारका झण्डाको प्रयोग गरिएका ७९ र तोकिएकाभन्दा धेरै सवारी साधन प्रयोग गरिएका ७६ घटना अभिलेख गरिएको छ ।

इन्सेकले प्रतिवेदनमार्तफत राजनीतिक दलहरू पनि आचारसंहिता पालनाका सन्दर्भमा इमानदार बन्नुपर्छ । सरकार र राजनीतिक दलहरुको इमानदारिताले नै निर्वाचनलाई मर्यादित बनाउँछ भनेको छ ।

‘राजनीतिक दलको चुनाव चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्री प्रयोग, विक्री वा प्रदर्शन गर्न/गराउन नहुने आचारसंहिताले भनेको छ तर यो प्रावधानको सबैभन्दा बढी दुरुपयोग भएको देखिन्छ । राजनीतिक दलका घरदैलो कार्यक्रममा टिसर्ट, टोपीको प्रयोग अधिक मात्रामा भएको पाइएको छ ।’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया