‘काठमाडौं-६ लाई पर्यटकीय गन्तव्य बनाउँछु’

नेपालखोज २०७९ मंसिर १ गते १४:२२

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बनेका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । बुधबार साँझ बागबजारमा भेटिनुभएका खनालले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने खाका लिएर आएको दाबी गरे ।

एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका खनालले यसअघि काठमाडौं-६ बाट दुईपटक सांसदमा निर्वाचित भइसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुन्दर, स्वच्छ र हराभरा पर्यटकीय क्षेत्र बनाउन नसकेको आरोप लगाए । प्रहरी सेवाबाट अवकाशपछि एमाले पार्टीमा प्रवेश गरेका खनालले सोही क्षेत्रबाट यसअघि निर्वाचित तथा सत्ता गठबन्धनका प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

उम्मेदवार खनालले आफूप्रति मतदाताको उत्साहप्रद सहभागिता रहेको बताउँदै यस क्षेत्रको धेरै ठाउँमा पानी, ढल, धुलोधुवाँ तथा जताततै छरपस्ट तारको समस्या रहेको बताए ।

उनले सो क्षेत्रमा जनताका आधारभूत आवश्यकतासमेत नभएको दाबी गरे । ‘पर्यटकीय दृष्टिकोणले ठमेल र सांस्कृतिक दृष्टिकोणले असनलाई विकास गर्न सकिन्छ,’ उनले भने, ‘मतदाताहरुले पनि यस क्षेत्रमा आधारभूत आवश्यकता पूरा हुन नसकेको बताउनुभएको छ ।’ उनले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै खोलाका दुवै किनारामा करिडोर, हरियाली पार्क बनाउने योजना रहेको बताए । उनले युवालाई बढी फोकस गरी काम गर्ने पनि बताए ।

सडक, धारा, ढल, बिजुली आदि काम क्रमिकरूपमा बने पनि सम्बन्धित निकायबीच आपसी समन्वय नभएको उहाँको भनाइ छ । जसले गर्दा सहर कुरुप देखिएको उनको भनाइ छ । विगतमा आफूले प्रहरी सेवामा काम गरेको अनुभव तथा मूल्याङ्कनका आधारमा आफूमार्फत् मतदाताले सो क्षेत्रको विकास चाहेको बताए ।

प्रतिक्रिया