लकडाउनको बिरोधमा सडकमा उत्रिए चिनियाँ नागरिक

नेपालखोज २०७९ मंसिर १ गते १६:४०

काठमाडौं । चीनमा कोरोनाका कारण लागू गरिएको कडा लकडाउन विरुद्ध जनताको धैर्यताको बाँध टुट्न थालेको छ । दक्षिणी चीनको ग्वाङझाउ सहरमा कोरोनाको यो लकडाउन तोडेर घरबाहिर निस्किएका नागरिकको प्रहरीसँग झडप समेत भएको छ । बीबीसीको एक समाचारका अनुसार गुआन्झाउका अनेकौं भिडियो फुटेजमा मानिसहरुले प्रहरीको गाडीमा तोडफोड गरेको देखिएको छ भने केही व्यक्तिले कोभिड नियन्त्रणका लागि राखिएको ब्यारियर समेत तोडेका छन् ।

कोरोना महामारी फैलिएपछि चीनको ग्वान्झाउलगायत थुप्रै सहरमा कडा प्रतिबन्ध लगाइएको छ । त्यहाँको अर्थतन्त्रमा गिरावट आएको छ, त्यसैले देशको जिरो कोभिडु नीतिलाई लिएर धेरै ठुलो दबाब सृजना भएको छ । विशेषगरी ग्वाङ्झाउ सहरको हाइजु जिल्लामा निकै तनाव छ । यहाँ मानिसहरूलाई घर भित्रै बस्न भनिएको छ । यो सहरमा ठूलो संख्यामा प्रवासी मजदुरहरू बसोबास गर्छन् । नाकाबन्दीका कारण काममा पुग्न नसकेकाले आफ्नो तलब समेत रोकिएको ति कामदारहरु बताउँछन् ।

लकडाउनका कारण जनताले अनेकौं समस्या भोग्नु परिरहेको छ । दैनिक उपभोग्य वस्तुहरु महँगा भएका छन् । कोभिड नियन्त्रणका लागि चालिएका कडा कदमका कारण आफुहरु ठुलो समस्यामा परेको मानिसहरुको भनाइ छ ।

यस सँगै चीनमा कोभिडका बारेमा अनेकन अफवाह पनि फैलिएको बताइन्छ । त्यहाँबाट कोभिड परीक्षण गर्ने कम्पनीहरूले कोरोना संक्रमणलाई बढाइचढाइ गरेर देखाएको खबर पनि आएको छ । परीक्षणको आवश्यकतालाई प्रवर्द्धन गर्न खोज्ने कम्पनीले त्यस्तो प्रयास गरिरहेको आरोप छ । यसो गर्दा उनीहरुले कोभिड जाँचमा बढीभन्दा बढी पैसा कमाउने मौका पाउनेछन् ।

हेबेई प्रान्तका अधिकारीहरुले शिजियाझुआङमा ठूलो मात्रामा सार्वजनिक परीक्षण हुने बताएका छन्। त्यस्तो योजना देखेर आत्तिएका मानिसहरुले घरमा औषधि थुपार्न थालेका छन् । सहरमा सामानको आपूर्ति झन्डै-झन्डै ठप्प भएको छ । दुई हप्ता अघि, फक्सकन कारखाना परिसरमा ठूलो संख्यामा मानिसहरुले हंगामा मच्चाएका थिए ।

चीनका सबै क्षेत्रका प्रान्तीय सरकारहरुले शून्य कोभिड नीतिका कारण अर्थतन्त्रलाई नोक्सान नहोस् भन्ने कुरा सुनिश्चित गर्ने प्रयास गरिरहेका छन् । सरकारहरू शून्य कोभिड नीति र अर्थतन्त्रबीच सन्तुलन कायम गर्न खोजिरहेका छन् । कारखाना उत्पादन र खुद्रा बिक्रीको पछिल्लो तथ्यांक ले कोरोना संक्रमणका कारण चिनको औद्योगिक उत्पादनमा ठूलो असर परेको देखाएको छ तसर्थ सरकारले स्थिति सुधार्न तत्काल कदम चाल्नुपर्छ ।

अहिलेसम्म चिनको कुनै पनि राज्यबाट कोविडको पूर्ण उन्मूलनको खबर आएको छैन। चोङकिङ सहरमा दुई करोड मानिस एक प्रकारको लकडाउनमा बाँचिरहेका छन् । मानिसहरुले यसलाई ‘स्वैच्छिक स्थिर व्यवस्थापन’ भनेका छन् । किनभने कोरोना लकडाउनको औपचारिक घोषणा भने भइसकेको छैन । त्यहाँ बसोबास गर्ने समुदायले नै मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया