आइतबार, जेठ ६, २०८१

फिफा विश्वकप – २०२२ का खेलाडीसँग सम्बन्धित केही रोचक तथ्य

नेपालखोज २०७९ मंसिर २ गते १५:२१

काठमाडाैं । फिफा विश्वकप सुरु हुन अब केही घण्टा मात्रै बाँकी छ । यो प्रतियोगिता नोबेम्बर २० मा अर्थात मङ्सिर ४ गते आइतबार सुरु हुनेछ । पहिलो खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुनेछन् । अरब राष्ट्रमा आयोजना हुनलागेको यो पहिलो फिफा विश्वकप हो जसमा ३२ देस सहभागी छन् । यस पटकको विश्वकप फुटबलमा सहभागि सबैभन्दा कान्छा , सबैभन्दा जेठा , सबैभन्दा अग्ला तथा सबैभन्दा होचा खेलाडीहरूक‍ो नालिबेली :

कान्छा खेलाडी युसुफ मुकोको (जर्मनी) : जर्मनी विश्वकपक‍ो प्रमुख दावेदार मध्येको एक हो । जर्मन टिममा युवा तथा अनुभवी खेलाडीको राम्रो मिश्रण छ । यद्यपि यो टिममा दुई जना त्यस्ता खेलाडी छन् जसमा सबैको नजर रहनेछ । ती खेलाडी हुन – १८ वर्षीय जमाल मुसियाला तथा १७ वर्षीय युसुफ मुकोको । यस पटकको फिफा विश्वकपमा युसुफ सबैभन्दा कान्छा खेलाडी हुन् । उनलाई अहिले जर्मनीको उदाउँदो फुटबल स्टार मानिन्छ । यो सिजन बुन्डेसलिगामा उनको कीर्तिमान प्रदर्सन प्रभावशाली रहयो । युसुफले बोरुसिया डर्टमण्डबाट खेल्दा ६ गोल तथा ३ असिस्ट गरेका छन् । आफ्नो प्रदर्शनका कारण युसुफले जर्मन म्यानेजर हान्सी फ्लिकको ध्यान आकर्षित गरे। स्टार फुटबलर टिमो वेर्नर घाइते भएपछि युसुफालाई जर्मन टिममा समावेश गरिएको हो ।

पाका खेलाडी अल्फ्रेडो तालावेरा (मेक्सिको) : यो विश्वकपमा धेरै मुलुकले आफ्नो टिममा अनुभव पनि समावेश गरेका छन् । जसमा ३९ वर्षीय ड्यानी अल्भेस (ब्राजिल), ३८ वर्षीय टियागो सिल्भा (ब्राजिल), ३७ वर्षीय लुका मोड्रिच (क्रोएसिया) तथा ३७ वर्षीय स्टार क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) प्रमुख छन् । यद्यपी मेक्सिकोका गोलकिपर अल्फ्रेडो तालाभेरा यो विश्वकपका सबैभन्दा पाका खेलाडी हुन् । अल्फ्रेडो ४० वर्षका छन् र एफसी जुआरेजका लागि क्लब स्तरमा खेल्छन्। उनी यो विश्वकपका लिजेण्ड फुटबलरमध्येका एक हुन् । उनका स्वदेशी तथा साथी गोलकिपर गुइलेर्मो ओचोआ पनि ३७ वर्षका छन् ।

सबैभन्दा होचा खेलाडी एलियास केइर (मोरक्को, ५ फिट, २ इन्च) : मोरक्कोले यो वर्ष पनि ठूलो उलटफेर गर्न सक्छ। यो टिमको जिम्मेवारी १० नम्बरको जर्सी लगाएका इलियास केयरको हातमा छ । यी स्टार फुटबलर कम उचाइ भए पनि प्रतिद्वन्दीहरुलाई चकित तुल्याउन माहिर छन्। मैदानमा उनको गति र कौशल हेर्न लायक हुन्छ । यही कारणले पनि उनलाई १० नम्बरको जर्सी दिइएको हो । समूह एफमा बेल्जियम, क्यानाडा र क्रोएसियासँगै मोरक्को छ । क्लब स्तरमा इलियासको प्रदर्शन प्रभावशाली छ । उनले यो सिजनमा इङ्लिस च्याम्पियनसिपमा क्लब क्यूपीआरका लागि तीन गोल र छ वटा असिस्ट गरेका छन ।

सबैभन्दा अग्ला खेलाडी एन्ड्रियास नोपर्ट (नेदरल्याण्ड्स, ६ फिट, ६ इन्च) : नेदरल्याण्डका गोलकिपर एन्ड्रियास यो विश्वकपका सबैभन्दा अग्ला खेलाडी हुन् । उनी लुइस भान गालको टिममा छन । हिरेनवीन क्लबका लागि यो सिजनमा उनको प्रदर्शन प्रभावशाली थियो। उनले १४ खेलमा ६ उत्कृष्ट बचाउ गरेका थिए । नेदरल्याण्ड्स विश्वकपमा आफ्नो प्रभावकारी प्रदर्शनलाई दोहोर्याउन यी प्रतिभाशाली गोलकिपरमा निर्भर हुनेछ।

प्रतिक्रिया