आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल- २०२२ रंगशालामा बियर पिउन नपाइने

नेपालखोज २०७९ मंसिर ३ गते १५:२५

काठमाडौं । आइतवार विश्वकप- २०२२ को औपचारिक सुरुवात हुनु अघि आएको यो खबरले केही मानिसलाई निराश तुल्याउन सक्छ । रुढिवादी मुस्लिम देशमा पहिलो पटक खेलाइँन लागेको फुटबल विश्वकप केही हिसाबले अनुपम हुनेछ । कतारमा सार्वजनिक रुपमा रक्सी पिउनमा कडा प्रतिबन्ध छ । अन्य धेरै इस्लामिक देशहरू जस्तै यहाँ पनि रक्सी सम्बन्धी कडा कानुन छ ।

फिफाका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन, फिफा तथा आयोजक देशका अधिकारीहरू बिचको छलफल पछि, यो फुटबल फेस्टिभलमा मादक पेय पदार्थको बिक्री इजाजतपत्र प्राप्त स्थानहरुमा मात्र गर्न दिने सहमति भएको छ । यसका लागि प्रशंसकहरुको पहुँचका अन्य क्षेत्रमा ध्यान केन्द्रित गर्ने निर्णय गरिएको छ, । कतार विश्वकप- २०२२ का स्टेडियमको वरपर बाहेक बियर बेच्ने अन्य आउटलेटहरु हटाइनेछ।

विश्वकप फुटबलको प्रमुख प्रायोजक बडवाइजर बियरलाई सबै आठ स्टेडियमको टिकट बिक्री हुने क्षेत्रमा अल्कोहल- बियर बेच्ने अधिकार दिइएको थियो । यसका लागि प्रत्येक खेलको ठीक तीन घण्टा अगाडि र एक घण्टा पछिको समय तोकिएको थियो । हामी प्रतियोगिता आयोजकहरू एबी इनबेभको समझदारी तथा सहयोगको प्रशंसा गर्दछौं , फिफाको विज्ञप्तिमा भनिएको छ। एबी इनबेभ बडवाइजर बियरको निर्माता कम्पनी हो ।

फिफाका अध्यक्ष जानी इन्फान्टिनो, बडवाइजर अनि कतारको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसीका अधिकारीहरुबीच भएको लामो छलफलपछि फिफाले अल्कोहल बियरको बिक्री रोक्ने निर्णय गरेको हो । मध्यपूर्व तथा दक्षिण एसियाली देशबाट ठुलो संख्यामा दर्शकहरु आउने हुनाले सांस्कृतिक कारणले गर्दा मदिरा नहुँदा रमाइलो गर्न त्यति सारो समस्या नहुने आयोजहरुको विश्वास छ । रक्सी रंगशालाको आवासीय क्षेत्रमा सर्भ गर्न सकिन्छ। बडवाइजरले सबै स्टेडियममा आफ्नो गैर-अल्कोहल बियर बेच्ने बताएको छ।

कतारले विश्वकपको घोषणा गरेपछि मदिरालाई लिएर प्रश्न उठिरहेको थियो । कतार आफ्नो छिमेकी साउदी अरेबिया जस्तो सुख्खा राज्य होइन, तर यहाँ सार्वजनिक स्थानमा रक्सी पिउन निषेध छ। कतार आउने यात्रुले आफूसँग ड्युटी फ्री पसलबाट किनेको मदिरासमेत ल्याउन पाउँदैनन् । यहाँ रक्सी केही होटल तथा बारहरूमा मात्र सर्भ गरिन्छ। यहाँ आधा लिटर बियरको मूल्य लगभग १५ युएस डलर पर्छ ।

बडवाइजरले मध्य दोहामा संचालन हुने फुटबल फ्यान फेस्टमा आफ्नो अल्कोहल बियर बेच्न सक्छ। यहाँ हाफ पिन्ट बियरको मूल्य करिब १४ डलर राखिएको छ । यसबाहेक फुटबलप्रेमीहरुका लागि तयार पारिएका अन्य ठाउँमा पनि मादक बियर बिक्री हुनसक्छ । -रोयटर्स

प्रतिक्रिया