शनिबार, वैशाख २२, २०८१

इतिहास रचना गर्ने विश्वासमा भारत

नेपालखोज २०८० भदौ ६ गते १६:४१

नयाँदिल्ली । भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचनाको प्रतीक्षामा छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने विश्वास भारतीय वैज्ञानिकले गरेका छन् ।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । यदि चन्द्रयान–३ सफलतापूर्वक अवतरण भयोभने भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश हुनेछ ।

रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास सार्वजनिक भएको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ ।

अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।

सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा छ ।

सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गरेका हुन् ।

प्रतिक्रिया