शुक्रबार, चैत १६, २०८०

कुन उमेरको व्याक्तिले कति घण्टा सुत्नु पर्छ ?

डा. हेमराज कोइराला २०७९ मंसिर ३ गते १३:००

निन्द्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि जति महत्व पोषिलो खाना, स्वच्छ पानी र ताजा श्वासको छ त्यति नै महत्व मिठो, गहिरो र पर्याप्त निन्द्राको पनि छ । गर्भास्थ भ्रूण होस वा नवजात शिशु, दुदे बालक होस वा लक्का जवान तन्देरी, तिल–चामले अधबैशे होस वा पिण्ड खान ठिक्क परेका बुढीमाउ निन्द्रा सबै र सधैका लागि प्राथमिक आवश्यकता हो ।

मिठो निन्द्राले मनलाई शक्ति, शरीरलाई पुनर्ताजगी र स्फूर्ति दिन्छ भने शरीरका हरेक प्रणलीहरूलाई बलियो बनाउँदछ । तर यी फाइदाहरू प्राप्त गर्न हामीले लिएको निन्द्रा मिठो र गहिरोका साथसाथ पर्याप्त पनि हुन आवश्यक छ । ठिक मात्रामा नसुतिएको निन्द्राले शारीरिक, मानसिक एवं भावनात्मक स्वास्थ्यलाई चौपट बनाउनुका साथै एकाग्रता, स्मृति, लय, ध्यान, रचनात्मकता र बोध क्षमतालाई समेत गडबड गरिदिन्छ ।

यसर्थ हर कसैले पर्याप्त मात्रामा निदाउन अत्यन्त आवश्यक छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सिफारिस गरे अनुरूप हरेक उमेर समुहका व्याक्तिले निम्नानुसारको न्यूनतम निन्द्रा लिन आवश्यक छ ।

विभिन्न उमेर समूहहरुलाई सिफारिस गरिएको सुत्ने समय ।
निन्द्राको आवश्यकता र महत्वका आधारमा सुत्ने समयलाई नौ उमेर समूहहरूमा विभाजन गरिएको छ । यस तालीकामा प्रत्येक समूहका स्वस्थ व्यक्तिहरूका लागि रातिको निन्द्राको न्युनतम अवधिको सिफारिस गरिएको छ र कतिपय अवस्थामा, सिफारिस गरिएको दायराभन्दा एक घण्टा बढी वा कम सुत्नु व्यक्तिको परिस्थितिको आधारमा स्वीकार्य हुन सक्छ ।

क्र.सं. विवरण उमेरको दायरा सुत्नुपर्ने अवधि

१ नवजात शिशु ० देखि ३ महिना १४ देखि १७ घण्टा

२ शिशु ३ देखि १२ महिना १२ देखि १६ घण्टा

३ दुदे बालक १ देखि २ बर्ष ११ देखि १४ घण्टा

४ बलक ३ देखि ५ बर्ष १० देखि १३ घण्टा

५ कुमार ६ देखि १२ बर्ष ०९ देखि १२ घण्टा

६ किशोर १३ देखि १९ बर्ष ०८ देखि १० घण्टा

७ बयस्क २० देखि ६० बर्ष ०७ घण्टा भन्दा माथि

८ वृद्ध ६१ देखि ६५ बर्ष ०७ देखि ०९ घण्टा

९ बयोवृद्ध ६६ देख माथि ०७ देखि ०८ घण्टा

३ श्रोत: अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन

बिशेष जानकारि स् प्रतिकुल स्वास्थ्य स्थिति भएका व्याक्तिहरुका लागि निन्द्राको अवधि यस भन्दा फरक हुनसक्ने छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया