प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि मतदान सुरु

नेपालखोज २०७९ मंसिर ४ गते ७:०६

काठमाडाैं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो ।

मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

मतदाताले निर्वाचनका लागि तयार गरिएको चारवटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया