मंगलबार, वैशाख २५, २०८१

कतार विश्वकप फुटबल-२०२२ : फुटबलको महाेत्सव

नेपालखोज २०७९ मंसिर ५ गते ७:४६

काठमाडाैं । टी–ट्वान्टी क्रिकेट विश्वकप सकिएपछि अब खेलप्रेमीहरुको नजर फिफा विश्वकपमा छ । कतारका पाँच सहरका आठवटा भव्य फुटबल रंगशालामा यो फुटबल एक्स्ट्रागान्जाको तयारी भइरहेको छ । फिफा विश्वकपको उपाधि जित्न ३२ वटा टिम जोडदार तयारीमा छन् । यो प्रतियोगितामा सहभागी धेरै टिम निकै बलियो मानिने भएपनि अर्जेन्टिना, ब्राजिल, डिफेन्डिङ च्याम्पियन फ्रान्स, इंग्ल्याण्ड, स्पेन, जर्मनी तथा पोर्चुगल अरु टिमको तुलनामा एक कदम अगाडि भएको मानिन्छ । अहिलेसम्म यी देसको प्रदर्शन पनि बलियो रहदै आएको छ ।

यसमा ब्राजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ भने यस पटक ब्राजिलका दिग्गज फुटबल खेलाडीहरुको नजर छैटौं उपाधिमा छ । ५६ वर्षअघि इंग्ल्याण्डले विश्वकप फुटबलको उपाधि जितेको थियो । यस्तो अवस्थामा इंग्ल्याण्डका खेलाडीहरु पनि दोस्रो पटक विश्वकप जित्न आतुर छन् । विश्वभरका बलिया टिमका खेलाडीहरूले य‍ो फुटबल एक्स्ट्राभान्जामा फिफा विश्वकप जित्ने प्रतिस्पर्धा गर्नेछन् । फिफा विश्वकप-२०२२ लाई लिएर विश्वभर उत्साह छ ।

विश्वका विभिन्न देशका फुटबलप्रेमीहरुको ध्यान अहिले यसमै केन्द्रीत छ । फिफा विश्वकप-२०२२ को रोमाञ्च अबको एक महिना जारिरहनेछ । कतारमा सुरु भएको फिफा विश्वकपको तयारी देखेर सारा विश्व चकित छ । यसका स्टेडियमको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । य‍ो विशेष अवसरमा कतारको केन्द्रीय बैंकले विशेष नोट तथा सिक्का पनि जारी गरेको छ । उक्त विशेष नोट तथा सिक्कामा फिफा विश्वकप ट्रफी र कतार विश्वकप-२०२२ को लोगो अनि अर्कातर्फ लुसेल स्टेडियम र अल बायत स्टेडियमको तस्विर छ ।

यी दुवै रंगशाला उदघाटन र फाइनल खेल खेलाइने रंगशाला हुन् । यो विशेष नोट र सिक्कामा कतारको राष्ट्रिय प्रतीक, क्षितिज, जुबारा र ढो फोर्ट पनि देखिन्छ। कतारको केन्द्रीय बैंकले फिफा र सुप्रिम कमिटी फर प्रोजेक्ट्स एण्ड लिगेसीसँगको सहकार्यमा हालै फिफा र विश्वकपको लोगो भएको विशेष २२ कतारी रियाल नोट तथा सिक्का सार्वजनिक गरेको छ । नयाँ नोट र सिक्काले देशको फुटबल इतिहासलाई चित्रण गर्दछ ।

यी नयाँ नोट तथा सिक्का आगन्तुकहरू का लागी राम्रो सोभिनियर साबित हुँदैछन । एक तथ्यांक अनुसार फिफा तथा आयोजक कतारले यो विश्वकपमा १७ लाख करोड रुपैयाँ खर्च गर्नेछन् । यसलाई फुटबल इतिहासकै सबैभन्दा महँगो विश्वकप भनिएको छ । (फिफा विश्वकप कतार- ०२२ को तयारीमा भएको खर्च फुटबल इतिहासकै सबैभन्दा महँगो हो ।)

प्रतिक्रिया