सोमबार, वैशाख २४, २०८१

विश्वकप फुटबल-२०२२ : सुरक्षा र खेलाडीको बसोबास

नेपालखोज २०७९ मंसिर ५ गते ७:५९

काठमाडाैं । विश्वकपको सुरक्षाका लागि कतारले १०,०००० करोडको लागतमा युरोपको सबैभन्दा ठूलो सुरक्षा कम्पनीबाट २४ वटा लडाकु विमान तथा ९ वटा अत्याधुनिक हक MK-167 प्रशिक्षण जेट खरिद गरेको छ । यसैगरि हेलिकाेप्टर र सुरक्षा उपकरण पनि विश्वकपका लागि नै भनेर विभिन्न कम्पनीबाट खरिद गरिएको छ ।

त्यस्तै कतारको सुरक्षाका लागि बेलायतको १२ टाइफुन स्क्वाड्रन तैनाथ छ । बेलायतले कतारलाई विशेष सुरक्षा गार्डहरू पनि उपलब्ध गराउनेछ र कतारको राष्ट्रिय सुरक्षा केन्द्रले ड्रोन, सीसीटीभी तथा सेन्सरहरूद्वारा सम्पूर्ण देशको निगरानी गर्नेछ । पछिल्ला दुई महिनादेखि २०,००० भन्दा बढी स्वयंसेवक कतारमा विश्वकपको तयारीमा जुटेका थिए । ति स्वयंसेवकलाई विशेष तालिम दिइएको थियो ।

यस्ता स्वयंसेवकहरू १६० भन्दा बढी देशबाट आएका छन् । यसमा १८ देखि ७७ वर्षसम्मका व्यक्ति समावेश छन् । यी स्वयंसेवकहरूले कुनै पारिश्रमिक पाउँदैनन् । उनीहरुको बसाई र खानाको व्यवस्था फिफाले गरेको छ । यी स्वयंसेवकहरूले विभिन्न विभागमा शिफ्टमा काम गरिरहेका छन् । इङ्गल्याण्डको टिम दोहा नजिकैको अल-वखरा सहरको अल-वखरा रिसोर्टमा बसेक‍ो छ । यो ५ तारे रिसोर्ट समुद्रको नजिक छ । बेलायति खेलाडीहरूलाई मदिरा सेवन गर्न अनुमति छैन ।

विश्वकप-२०२२ का १० मध्ये ८ स्टेडियम उक्त रिसोर्ट नजिकै भएकाले इङ्गल्याण्डले यो ठाउँ रोजेको ह‍ो । वेल्सको टिम दोहाको डेल्टा होटल्स सिटी सेन्टरमा बसेको छ जहाँ स्पा, स्विमिङ पूल, फिटनेस सेन्टर तथा स्पेनिस रेस्टुरेन्ट पनि छ । बेल्जियमको टिम हिल्टन साल्भा बिच नजिकैको रिसोर्टमा छ । उक्त रिसोर्टमा थिम पार्क समेत छ । यसमा ५४ प्रकारका सवारी, स्कुबा डाइभिङ र गो-कार्टिङसहितको वाटर एडभेन्चर पार्क छ ।

फ्रान्सको टिम दोहा स्थित अल-मेसिला होटलमा बसेको छ । यो होटेल यसको अरबी शैलीको डिजाइनका लागि प्रसिद्ध छ जहाँ एक रातको भाडा डेढ लाख रुपैयाँ पर्छ । यो होटेलमा ३० वटा निजी पोखरी पनि छन् । ब्राजिलले आवासका लागि वेस्टिन दोहा होटेल रोजेको छ । उक्त होटेल प्रत्येक स्टेडियमबाट लगभग १७ मिनेट टाढा छ । यो सिटी सेन्टर होटेलमा ४ वटा रेस्टुरेन्ट, ३ वटा स्विमिङ पुल, फिटनेस सेन्टर तथा स्पाहरु छन् । अर्जेन्टिना तथा स्पेनले आवासका लागि कतार विश्वविद्यालयका आवासहरू छनौट गरेका छन् । ति निवास तालिम मैदानहरूले घेरिएका छन् ।

प्रतिक्रिया