मंगलबार, असार २४, २०८२

काठमाडौं-४ : ३७,२३२ मत गणना हुँदा ५,५६८ मतले गगन थापा अगाडि

नेपालखोज २०७९ मंसिर ६ गते ९:००

काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुवातीदेखि अग्रता कायम राखेका छन् । मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका हुन् ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेद्वार डा. राजन भट्टराईले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी राप्रपाका उम्मेद्वार डा. ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन् । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ । काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ ।

काठमाडौं–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने काठमाडौं महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौ‌–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेद्वार रहेका छन् ।

प्रतिक्रिया