प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ । निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ ।
उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेद्वार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिए । नेकपा (एमाले) पोलिटब्यूरो सदयसमेत रहनुभएका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गरेका छन् । यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ मा एमालेकै तुल्सीराम शर्मा विजयी भएका छन् । उनले २० हजार दुई सय १० मत ल्याई विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ ।
उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार अधिकारीले १७ हजार छ सय २७ मत ल्याएका छन् । अधिकारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका थिए । उनी एमालेका उम्मेद्वार शर्मासँग दुई हजार पाँच सय ८३ मतान्तरले पराजित भएका हुन् । यसैगरी प्रदेशसभा २ मा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) विजयी भएका हुन् । उनले २२ हजार पाँच सय १८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका हरि रिजालले २० हजार आठ सय सात मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
पाँच दलीय गठबन्धनबाट उम्मेद्वार बनेका राणाले प्रतिद्वन्द्वी उम्मेद्वार एमालेका रिजाललाई एक हजार सात सय ११ मतान्तरले पराजित गरेका हुन् । एक लाख ५९ हजार सात सय ६० कूल मतदाता रहेको प्यूठानमा जम्मा ८८ हजार ४७ अर्थात् ५५ दशवलव ११ प्रतिशत मत खसेको थियो । एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको प्रदेशसभा १ मा ४० हजार नौ सय आठ मत खसेको हो । प्रदेशसभा २ मा भने ४७ हजार एक सय ३९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया