आइतबार, असार २२, २०८२

चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी

नेपालखोज २०७९ मंसिर ८ गते ११:२०

चितवन । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नं. २(१) र ३(१)को मत परिणाम आएको छ ।

प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नं. २ (१) मा कृष्णप्रसाद सिलवाल विजयी भएका छन् । उनी एक हजार दुई सय ४० मतान्तरले विजयी भएका हुन् । उनले १६ हजार पाँच सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार दुई सय ६० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले पाँच हजार एक सय ९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिए । यस क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा तीन हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै चितवन क्षेत्र नं ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ विजयी भए । तामाङले नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेलाई दुई हजार आठ सय ५७ मतले पछि पार्दै विजयी भएका हुन् । आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार आठ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित भए ।

उनको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्रा डा. सूर्यकान्त घिमिरेले १४ हजार नौ सय ५६ मत प्राप्त गरे । नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार ६ सय २३ मत पाए । यस क्षेत्रमा आठ जना उम्मेदवार रहेका थिए । क्षेत्र नं. ३ ९१०मा ५० हजार दुई सय १२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया